पृथ्वीपुर भन्सार दुई वर्षदेखि बन्द
धनगढी / कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार कार्यालय दुई वर्षदेखि बन्द छ ।
कोरोनाको संक्रमण बढेपछि पहिलो चरणको लकडाउनसंगै बन्द भएको सो छोटी भन्सार सबै सिमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
छोटी भन्सार बन्द हुँदा भन्सार कार्यालयको परिसर पनि निकै नाजुक अवस्थामा पुगिसकेको छ । कार्यालय परिसरमा झारपात उम्रनुका साथै भवन संरक्षणको अभाव देखिएको छ ।
सरकारले भारतसँग सिमा जोडिएका सबै सिमानाका खुला गर्ने निर्णय गरे पनि बन्द भएको उक्त भन्सार सञ्चालनमा नआउदा त्यहाँबाट संकलन हदै आएको राजस्व पनि बन्द भएको छ ।
खक्रौलास्थित सत्ती भन्सार कार्यालयको मातहतमा रहेको सो छोटी भन्सार बन्द हुँदा त्यस क्षेत्रबाट चोरी तस्करीका घटनासमेत बढ्दै गएका छन्् । भन्सार कार्यालय खुला हुँदा कम्तीमा पनि स्थानीयवासीले ल्याउने घरायसी सामानको भन्सार महशुल तिरेर ल्याउने गरेका थिए ।
भजनी नगरपालिका– ५ का सुरेन्द्र चौधरी भन्सार तथा आसपासका क्षेत्रमा रातिको समयमा निकै हलचल हुने गरेको बताउछन् । यस क्षेत्रबाट चोरी तस्करीको सामान निकै आयात हुने गरेको छ । त्यो सत्ती भन्सार कार्यालय, प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई पनि राम्रोसँग थाहा छ, उनी भन्छन, सबै तस्करसँग मिलेका छन् ।
कसैले केही बोल्ने कुरै भएन । कहिलेकाही बार्गेनिङ नमिलेपछि मात्रै एक्सन लिने काम हुन्छ । सत्ती भन्सार कार्यालयका प्रमुख विमलकुमार साह कोरोनाका कारण पहिलो चरणको बन्दाबन्दीका समयमा बन्द भएका देशभरका कुनै पनि छोटी भन्सार सञ्चालनमा आउन नसकेको बताउँछन् ।
भन्सार विभागबाट छोटी भन्सार सञ्चालनमा ल्याउनका लागि अख्तियारी नआएका कारणले पनि छोटी भन्सार सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ । हामीले चाहेर पनि भन्सार खुला गर्न सक्दैनौ । विभागको अख्तियारी चाहिन्छ ।
त्यो अख्तियारी अहिलेसम्म आएको छैन, भन्सार प्रमुख साह भन्छन, कुनै पनि छोटी भन्सार सञ्चालनमा आएका छैनन् । अख्तियारी आएपछि हामीलाई भन्सार सञ्चालनमा ल्याउन कुनै कठिनाइ छैन ।
छोटी भन्सार बन्द भएकै कारण चोरी तस्करीका घटनामा वृद्धि भएको भन्नु गलत हो तर राजस्व संकलन भने बन्द भएको छ । वार्षिक करिब ४० लाखभन्दा भन्दा बढी राजस्व संकलन छोटीबाट हुँदै आएको देखिन्थ्यो ।
दुई वर्षदेखि त्यो राजस्व सञ्चालन हुन सकेको छैन, उनी बताउछन्। घरायसी सामान ल्याउनेबाट सामान्य भन्सार भए पनि संकलन हुने गरेकामा अहिले त्यसको निगरानी गर्ने कोही छैन । भन्सार बन्द हुँदा व्यावहारिक रुपमा घरायसी सामान ल्याउन बन्द गर भन्न पनि सकिदैन ।