६ पुष २०८२, आईतवार

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा हिमपात



हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग राजमार्ग अवरुद्ध


धनगढी /
सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा बुधबार रातिदेखि हिमपात भइरहेको छ ।

प्रदेशका बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला र डोटीलगायत पहाडी जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको छ । बिहीबार बिहानदेखि कैलाली, कञ्चनपुर सहित अधिकांस जिल्लामा वर्षा समेत भइरहेको छ ।

दार्चुलाको उच्च हिमाली क्षेत्र व्यास, नौगाड, अपिहिमाल, न्वालपानी, दल्लेख लगायतका क्षेत्रमा हिमपात भएको मालिकार्जुन गाउ“पालिका वडा नम्बर २ का स्थानीय धनसिंह धामीले बताए ।

त्यस्तै, ब्यास गाउँपालिकाको वडा नम्बर ३ को सीना तुसरपानी, वडा नम्बर २ को राप्ला, दुम्लीङ, वडा नम्बर ४ को सुन्सेरा, डोकट, वडा नम्बर ५ को धौलाकोट, वडा नम्बर ६ को हुती लगायतका बस्तीहरूमा हिउँ परेको ब्यास गाउँपालिका स्थानिय पदमराज भट्टले बताए ।

हिमपातका कारण खानेपानीका पाइपहरू जमेका छन् । हिउदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् । तिंकर गाउँ हिउँदमा मानवबिहीन हुने गरेको छ । भने १२ किलोमिटर तल रहेको छाङरु गाउ“मा नेपाल प्रहरी र सशस्त्र प्रहरी १२ महिना नै बस्ने गरेका छन्।

अहिले चिसोका कारण ब्यास गाउँपालिका वडा नम्बर १ छाङ्रुमा रहेका सुरक्षाकर्मीहरूलाई पनि समस्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्चार्ज मनोहर भट्टले बताए ।

बैतडीमा पनि बिहीबार दिउसोदेखि हिमपात भइरहेको छ । बाक्लो हिमपात भएपछि यातायातका साधनहरू बीच बाटोमै रोकिएका छन्् । हिमपातका कारण यात्रुहरू अनारखोलिमा अलपत्र परेको डडेल्धुरा अस्पतालबाट घर फर्केका नवराज अवस्थीले बताए ।

मौसममा आएको बदलाव शनिवार सम्म रहने र आइतबार देखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदहरूले बताएका छन् ।
हिमपातसंगै चिसो बढेकोले बृद्धबृद्धा, बालबालिकाहरूको स्वास्थ्यमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् ।

बिहीबार वर्षासंगै डडेल्धुरामा पनि हिमपात भएको छ । हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग राजमार्ग अवरुद्ध भएको छ ।

कैलाली–डडेल्धुरा जोड्ने भिमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको आलिताल गाउँपालिका– मेलखर्कदेखि गन्यापधुरा गाउपालिका–१ को हगुल्टे, साहुखर्कसम्मको सडक अबरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए ।

राजमार्ग अवरुद्ध हुँदा दिउँसोदेखि यातायातका साधान रोकिएका छन् । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग भने सञ्चालनमानै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार