२३ बैशाख २०८३, बुधबार

कोरोना विरुद्धको खोप कार्यक्रम : कैलालीमा लक्षित समुहका ६५ प्रतिशतले पूर्ण खोप लगाए




धनगढी /
कैलालीमा लक्षित उमेर समूहमध्ये हालसम्म ६५ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको संख्या भने ७१ प्रतिशत पुगेको छ ।

कैलाली स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा जिल्लामा कोरोना विरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसंख्या छ लाख ६४ हजार ६८८ रहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा चार लाख ७१ हजार ९२८ जनालाई कोरोना विरुद्धको खोपको पहिलो डोज दिइएको छ । जिल्लामा खोपको पूर्ण मात्रा पाउनेको सङ्ख्या चार लाख ३२ हजार पुगेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

उनले भने– जिल्लामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या बढ्दै गएको छ । हामीले खोपका कार्यक्रम नियमित रूपमा अघि बढाइरहेका छौ ।

उनले कैलाली कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले पनि नियमित खोप कार्यक्रम सञ्चालन भइरहेको बताए । भने– आम नागरिकमा पनि कोरोना विरुद्धको खोप अनिवार्य लगाउनुपर्छ भन्ने जागरुकता बढेको छ ।

यसैबीच, कैलाली जिल्लामा सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना नामक खोप लगाउने काम सुरु गरिएको छ ।

कैलालीको टीकापुर नगरपालिकाले पनि मङ्गलबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका १७ हजार बालबालिकालाई खोप लगाउने जनाएको छ ।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सहसंयोजक कमल रावलले मङ्गलबारदेखि २१ गतेसम्म नगरपालिकाका विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरी बालबालिकालाई खोप लगाउने तयारी भइरहेको जानकारी दिए ।

हरेक विद्यालय र पायक पर्ने विभिन्न स्थानमा खोप केन्द्र राखेर विद्यालय तथा समुदायमा रहेका बालबालिकालाई खोप लगाउँदैछौ जनस्वास्थ्य प्रवद्र्धन उपशाखा सहसंयोजक रावलले भने– खोप लागउने भनेपछि अभिभावक र शिक्षक खुशी हुनुभएको छ । लामो समयदेखि बालबालिकालाई खोप माग गर्दै आएका अभिभावक तथा शिक्षकको मागसमेत पूरा भएको छ ।

टीकापुर नगरपालिकामा १८ वर्षमाथिका ८१ प्रतिशत नागरिकलाई पहिलो मात्रा र ६६ प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप लगाइसकेको उनले जानकारी दिए ।

त्यस्तै, कैलालीकै जानकी गाउँपालिकाले पनि मङ्गलबारदेखि २१ गतेसम्म पालिकाभित्र रहेका तीन हजार नौ सय ४५ बालबालिकालाई खोप लगाउने तयारी गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिए ।

कोरोना महामारी समुदायमा फैलिएपछि पुसको अन्त्यबाट बन्द भएका यहाँका विद्यालयहरू खोप लगाएपछि खुल्ने आशा गरिएको छ स्वास्थ्य शाखा प्रमुख चौधरीले भने– बालबालिकाको सुरक्षा र शैक्षिक गतिविधि सञ्चालनका लागि पनि खोप आवश्यक थियो । हामीले खोप आउने बित्तिकै सुरु गर्न थालेका छौं ।

कैलालीका सबैजसो पालिकामा यसै साताभित्रै खोप अभियान सञ्चालन हुने बताइएको छ । अभिभावक खोप अभियान सञ्चालन हुन थाल्दा खुुुसी भएका छन् ।

विद्यालयले बालबालिकालाई सूचना गरी अनिवार्य खोप लगाउन आग्रह गरेका छन् । लामो समयदेखि पढाइ नहुँदा बालबालिका गाउँमा सडकमा खेलिरहेका हुन्थे, केही बालबालिका टेलिभिजन र मोबाइलमा ब्यस्त रहन्थे, टीकापुरका शिक्षक पूर्ण विक भन्छन्– खोपपछि विद्यालय नियमित भएमा बालबालिकाको शैक्षिक विकासमा असर पर्दैन ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार