माघको तेस्रो साता लाग्दा पनि मौसममा सुधार भएन

धनगढी / सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन सातादेखिको शितलहर, हुस्सु तथा वेलावेलामा भइरहेको हिमपात र वर्षाका कारण जाडो कम हुनसकेको छैन ।
लगातारको हुस्सु र वेलावेलामा भइरहेको हिमपात तथा वर्षाका कारण जनजीवन प्रभावित भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा जाडो अत्यधिक बढेको छ ।
हिउँदेयाम शुरु भएसंगै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस हिउँद महिनामा हालसम्म सात वटा प्रणालीबाट हिमपात भएको छ मौसम पूर्वानुमान महाशाखाका इन्जिनियर राजु प्रधान श्रेष्ठले भने– यस वर्ष सबैभन्दा सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा बढी हिमपात भएको छ ।
उनका अनुसार पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको दार्चुला, बाजुरा, बैतडी डोटी र बझाङ्ग जिल्लामा हिमपात भएको छ । ‘हाम्रो सिमित ठाउँमा स्टेशन छ । कहाँ कति हिमपात भयो भन्ने ऐकिन भन्न सकिदैन । तर, हिमाली जिल्लामा अत्याधिक हिमपात भएको छ उनले भने ।
हिमपात र शितलहरका कारण सुदूरपश्चिम प्रदेशको मौसममा अहिलेसम्म सुधार आउन सकेको छैन । गत पुस ६ गते कैलाली र कञ्चनपुरसहित प्रदेशमा सबैभन्दा बढी चिसो रहेको थियो । फिल्ड कार्यालय अत्तरियाका अनुसार यो वर्ष सबैभन्दा बढी चिसो पुस ६ गते भएको थियो ।
हिमपात र वर्षाका कारण सो दिन कैलालीको तापक्रम चार दशमलब दुई डिग्री सेल्सियस रहेको थियो । त्यसयता मौसममा कैलालीमा न्यूनतम तापक्रम आठ देखि ११ डिग्री सेल्सियस रहेको छ ।
आइतबार (माघ १६ गते) कैलालीको न्यूनतम तापक्रम नौ डिग्री सेल्सियस रहेको थियो । न्यूनतम तापक्रमभन्दा पनि जिल्लामा विहानैदेखि भएको बाक्लो हुस्सु र शितलहरका कारण आम मानिसको जनजिवन प्रभावित भएको थियो । आइतबार न्यूनतम तापक्रम नौ डिग्री थियो । सोमबार पनि विहान ८ बजेको तापक्रम १२ डिग्री सेल्सियस छ ।
यो वर्षकै सबैभन्दा चिसो पुस ६ गते भएको थियो’ फिल्ड कार्यालय अत्तरियाका प्रमुख सिङ्गल चौधरीले भने– हुस्सु र सितलहरका कारण आम मानिसले बढी चिसो महशुष गरिरहेका हुन ।
बाक्लो हुस्सुका कारण सोमबार धनगढीदेखि काठमाडौ उडान हुँदै आएका हवाई उडान पनि प्रभावित भएको थियो । विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भने– यहाँबाट दैनिक सात वटा उडान हुँदै आएको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा उडान भर्दै आइरहेको समिट एयरलाईन्सले पनि आइतबार कुनै जिल्लामा पनि उडान भर्न सकेको थिएन । दिउँसोसम्म एउटा पनि उडान नभएको यो सिजनमा पहिलोपटक हो ।
धनगढीमा श्री एयरलाइन्स र बुद्ध एयरलाइन्सले दैनिक ३/३ र सौर्यले एक उडान भर्दै आएको छ । हवाई उडान नभएपछि यात्रुहरू मर्कामा परेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिने मौसम बुलेटिनमा अझै पनि मौसम सुधार नहुने अनुमान व्यक्त गरेको छ । माघ १८ गतेसम्म मौसममा सुधार नहुने सो बुलेटिनमा उल्लेख छ । माघ १८ अर्थात (मंगलबार) प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै र बाकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ सो बुलेटिनमा भनिएको छ –‘देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।
यस्तै, राती प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै र बाकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।




