१८ पुष २०८१, बिहीबार

घरदैलोमै कोरोना विरुद्धको खोप अभियान




धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा घरदैलोमै पुगेर कोरोना संक्रमण विरुद्धको खोप लगाउने कार्य अघि बढेको छ ।

कोरोना विरुद्धको खोप अभियानको सुरु भएको एक वर्ष पुगे पनि खोप लगाउन योग्य उमेरका कतिपयले अझैसम्म खोप नपाएकोले घरदैलोमै पुगेर खोप लगाउन शुरु गरिएको वडा नम्बर १ कार्यालयले जनाएको छ ।

वडा नम्बर १ मा शनिबारदेखि हरेक टोलमा खोप अभियान सञ्चालन गरिएको छ । वडाध्यक्ष सन्तोष मुडभरीले कोरोना विरुद्धको खोप उनबाट कोही पनि बञ्चित नहोस भनेर स्वास्थ्यकर्मीहरूले घरदैलो मै पुगेर खोप लगाउन थालेको बताए । उनले भने– कतिपय मान्छेले चाहेर पनि खोप पाउन सकेका छैनन् ।

कतिपयले डराएर पनि लगाएका छैनन् । त्यसैले कोरोना विरुद्धको खोपबाट कोही बञ्चित हुन नपरोस भनेर वडामा घरदैलो अभियान सञ्चालन गरेर खोप लगाउने कार्यको थालनी गरेका छौं ।

वडाध्यक्ष मुडभरीले सहरी स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मीलाई आग्रह गरेर शनिबार पनि अभियान सञ्चालन गरेको बताए । ‘हामीले स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेर शनिबार पनि विभिन्न टोलमा पुगेर खोप लगाउने काम गरेका छौं’ उनले भने ।

वडा नम्बर १ मा तीन दिनसम्म कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने जनाइएको छ । वडामा १४ हजार तीन सय ३३ जनसंख्या रहेको बताइएको छ । अभियानको क्रममा अहिलेसम्म खोप नलगाएकालाई पहिलो डोज, पहिलो डोज लगाएर बसेकालाई दोस्रो डोज र बुस्टर डोजपनि लगाइरहेको वडा अध्यक्ष मुडभरीले बताए ।

तेस्रो लहरको संक्रमण सुरु भएपछि अग्रपङ्तीमा खटिने व्यक्तिसहित ज्येष्ठ नागरिकलाई बुस्टर डोज (अतिरिक्त मात्रा) लगाइदैछ ।

धनगढीमा जिल्ला प्रशासन कार्यालय, बसपार्क, मालपोत कार्यालय जस्ता सार्वजनिक स्थानमा कोरोनाविरुद्धको नियमित खोप लगाउने कार्य नियमित सञ्चालन हुँदै आइरहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनीयर अहेब लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार