११ बैशाख २०८१, मंगलवार

आज राष्ट्रिय सभा निर्वाचन : धनगढीमा पनि तयारी पूरा



गठबन्धनका उम्मेदवार

एमालेका उम्मेदवार


धनगढी /
सुदूरपश्चिमसहित देशभरी आज राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सचिवालयमा आज हुन लागेको मतदान केन्द्रको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

मतदानका लागि प्रदेश सभाको खुल्ला प्राङ्गणमा दुई वटा मतदान केन्द्र बनाइएको छ । एक मतदान केन्द्रमा तीन वटा मतदान स्थल रहेका छन । ५२ प्रदेश सभा सदस्यहरुका लागि एक मतदान केन्द्र र १७५ स्थानीय तहका जनप्रतिनिधीहरुका लागि अर्को मतदान केन्द्र बनाइएको निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

उनले कोरोना महामारीसंगै निर्वाचन आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुने गरि मतदान केन्द्र तयार गरिएको बताए । सामाजिक दुरी, मुखमा मास्कसंगै सरसफाईका स्वास्थ्य मापदण्ड पालना गरार्ई मतदान गराइने छ उनले भने ।

प्रदेशमा आज विहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समयावधि तोकिएको छ । सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि हुन लागेको निर्वाचनमा प्रदेशमा छ जनाको उम्मेदवारी रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा पाँच दलको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने छ ।

पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका कैलालीका नारायणदत्त मिश्रले अन्य, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) पार्टीका मदनकुमारी (गरिमा) शाह र दलितमा नेकपा माओवादीका जगत पार्कीले उम्मेदवार रहका छन ।

त्यस्तै, नेकपा एमालेबाट अन्यमा डोटीका डिल्लीराज भट्ट, महिलामा कैलालीका सन्तोष कुमारी शर्मा थापा र दलितबाट बैतडीका नरेश विकले उम्मेदवार रहेका छन ।

स्थानीय तहको निर्वाचन हुँदा प्रदेशमा अंकगणितका हिसाबमा एमाले बलियो रहेको थियो । अहिले पार्टी दुई धारमा गएपछि केही मतअन्तर रहेको देखिन्छ ।

स्थानीय तहका एक मतदाताको मतभार १८ छ । यस्तै प्रदेशसभाका एक मतदाताको मतभार ४८ कायम गरिएको छ । प्रदेशमा कुल उनीहरुको मत भने पाँच हजार छ सय ४६ छ ।

यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन् ।

स्थानीय तहका ७१ र प्रदेश सभाका ११ गरी सुदूरपश्चिम प्रदेशमा एमालेका ८२ मतदाता छन् । स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको मतभार प्रतिमतदाता ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत १८०६ हुन आउँछ ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा) सँग स्थानीय तहका पदाधिकारी १०४ जना छन् । त्यस्तै, प्रदेश सभामा ४० जना सदस्य छन् ।

त्यसैले यो गठबन्धनसँग कुल तीन हजार सात सय ९२ मत छ । गठबन्धनसँग रहेको मत कुल मतको उच्च बहुमत हो । त्यसैले गठबन्धनका उम्मेदवारहरुले जित्ने निश्चितप्रायः छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार