५ पुष २०८२, शनिबार

मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरूमा कोरोना संक्रमण बृद्धि




धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, प्रदेश सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका केही कर्मचारीहरूमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव ढुण्डीप्रसाद निरौलासहितका पाँच जना, सामाजिक विकास मन्त्रालयका छ जना र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

प्रदेश निमित्त प्रमुख सचिव निरौलाले परीक्षण गराउँदा आफूसहित पाँच जना कर्मचारीमा संक्रमण देखिएको जानकारी दिए । उनले आफ्नो भान्से र सवारी चालकलाई पनि संक्रमण देखिएको जानकारी दिए । उनले भने– हामी सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

मुख्यमन्त्रीका निजी सचिव सहित अन्य दुई जनालाई पनि संक्रमण भएको बताइएको छ । कोरोना संक्रमण पुष्टि भएका सबै कर्मचारीहरू आइसोलेसनमा बसेका छन् ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले छ जना कर्मचारीहरूमा संक्रमण पुष्टि भएपछि मन्त्रालयले अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको जानकारी दिए । लक्षण देखिएका अन्य कर्मचारीहरूले पनि स्वास्थ्य परीक्षण गराउने उनले बताए ।

यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत एक जना कार्यालय सहयोगीलाई पनि कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आइतबार गरिएको परीक्षणमा उनलाई संक्रमण देखिएको हो । उनी पनि आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार