१३ बैशाख २०८१, बिहीबार

सहमती विपरित भारतले महाकालीमा तटबन्ध निर्माण गर्दै



फाइल तस्बिर


धनगढी / भारतले सहमति विपरित महाकाली नदीमा तट्बन्धन निर्माण गर्न थालेको छ । भारत र नेपाल सरकारबीच भएको सहमति अनुसार दुई पक्षको समझदारीमा मात्रै महाकाली नदीमा तट्बन्धन गर्न पाइने प्रावधान राखिएको छ ।

तर, दार्चुलामा अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिविपरीत भारतले महाकालीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको छ । जिल्लाको सदरमुकाम खलंगा बजारको पारिपट्टि भारतले पक्की तटबन्ध निर्माण थालेको हो ।

भारतीय केन्द्रीय जल विभागले माघ ४ गतेदेखि खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको छ ।

नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग समन्वय गरेको छैन । तटबन्ध निर्माण गर्दा भारतीय पक्षले समन्वय नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत वर्ष पुसमा पनि भारतले एकतर्फी रूपमा सदरमुकाम पारिपट्टि बाढीले धार परिवर्तन गरेको नदी क्षेत्र मिचेर करिब १२० मिटर बाँध बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार