१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमण बढेपछि सरकारी कार्यालयहरूको सेवा प्रभावित




धनगढी /
केही सातायता कोरोना संक्रमणमा निरन्तर बृद्धि भएसंगै सुदूरपश्चिम प्रदेशका स्थानीय तह तथा सरकारी कार्यालयहरूको नियमित सेवा प्रवाह प्रभावित भइरहेको छ ।

सरकारी कर्मचारीहरूमा कोरोना संक्रमण दरमा बृद्धि हुन थालेपछि स्थानीय तह तथा विभिन्न सरकारी कार्यालयमा सेवा प्रवाह प्रभावित भइरहेका छन ।

कैलालीको गोदावरी नगरपालिकाका कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सार्वजनिक सेवा स्थगित गरेको छ ।
सो नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै “कर्मचारीहरूमा कोरोना संक्रमण देखिएकाले नगरपालिकाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएको” उल्लेख छ । सूचनामा “माघ ९ गतेदेखि १५ गतेसम्म नगरपालिकाले कार्यालय बन्द हुने” उल्लेख छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले सो अवधिभरी सरसफाई, स्वास्थ्य र दमकल लगायतका अत्यावश्यक सेवा भने सञ्चालन भइरहने बताए ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय कैलालीले पनि आइतबारदेखि अत्यावश्यक सेवा बाहेक अरु सबै सेवा स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीमा कार्यरतमध्ये १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेक अरु सबै सेवा स्थगन गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सबै सेवा स्थगन गरेको जनाएको छ । सूचनामा भनिएको छ– कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूमा पनि कोभिडको लक्षण देखिएको र उनीहरू सबै जना होम आइसोलेसनमा बसिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार एक जना प्रशासकीय अधिकृतसहित १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शान्ति सुरक्षा र मुद्दाबाहेकका सबै सेवा स्थगन गरिएको बताए ।

त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा पनि भोली (सोमबार) देखि ५ दिनसम्म सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिका कार्यालयमा कार्यरतमध्ये आठ जना कर्मचारीहरू तथा नागरिक माझ पनि ठूलो संख्यामा कोभिड १९ को संक्रमण पुष्टि भएकोले यही माघ १० गतेदेखि १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जानकारी दिए ।

उनले यस अवधिमा दमकल, एम्बुलेन्स सेवा, सरसफाइ र स्वास्थ्य सेवा मात्र सञ्चालन हुने बताए ।

त्यस्तै, डोटीको बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ शाखाले जनाएको छ । पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा संक्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् ।

बडिकेदार गाउपालिकाले हाल अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरिएको जनाएको छ ।

डोटीमा कामका लागि भारत गएका नागरिक धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट बढीजसो कोरोना जोखिम बढ्न थालेको जनाइएको छ । स्वदेश फर्किएकाहरूलाइ अनिवार्य कोरोना परीक्षण गर्न पालिकाले आग्रह गरेको छ । जिल्लामा हाल नयाँ कोरोना संक्रमितको संख्या १११ पुगेको छ ।

त्यस्तै, कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । जिल्ला अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ ।

कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अत्यावश्यकबाहेका सेवा मात्रै प्रदान गरिने बैतडी जिल्ला अदालतले जनाएको छ । बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउ पूर्जी जारी, अभियोग दर्ता, वयान र थुनछेकको काम सञ्चालन हुनेछ ।

त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहितासम्बन्धी मुद्दा र मुद्दा फिर्ता, तामेलीलगायतका कार्य पनि गरिने जनाइएको छ । सजाय निर्धारणका लागि पेशी तोकिएका मुद्दाहरू नियमित सुनुवाइ गरिनेछ । यी बाहेकका अन्य सेवाहरू तत्कालका लागि बन्द भएका अदालतले जनाएको छ ।

भारतसंग सीमा जोडिएको बैतडी जिल्ला कोरोनाको संक्रमणको निकै जोखिममा रहेकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । संक्रमणकै कारण यहाँ १९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार