७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा कोरोना : बिहीबार पाँच सय बढी संक्रमित थपिए




धनगढी /
सुदूरपश्चिम प्रदेशमा बिहीबार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दुई हजार दुई सय ८६ जनाको कोरोना परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

२३९ जनाको पीसीआरमार्फत र २९५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये बिहीबार भारतबाट घर फर्किएका १५५ जना रहेका छन् ।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७४, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ७६ ,जुलाघाटबाट फर्केका ४, पुलघाट नाका दार्चुलाबाट फर्केका १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना भाईरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २८३ नमुना परीक्षण गर्दा थप १६७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा सात जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने थप दुईजना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा १३ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये तीनजना आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार