१५ बैशाख २०८१, शनिबार

बुष्टर डोज लगाउन शुरु हुने




धनगढी / सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको बुस्टर डोज लगाउने अभियान शुरु हुने भएको छ । कोरोना संक्रमण विरुद्धको दुबै खोप लगाएका व्यक्तिहरूलाई सो डोज प्रदान गरिने बताइएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई बुष्टर डोज दिने बताइएको छ । शुक्रबार नै सञ्चारकर्मीहरूलाई पनि बुष्टर डोज दिइने छ ।
प्रदेश सभा सचिवालयको प्राङ्गणमा सो डोज लगाइने सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

‘शुक्रबार प्रदेश सभा सचिवालयमा प्रदेश सभा सदस्यहरूलाई बुस्टर डोज लगाइन लागिएकोले सो डोज लगाउन चाहने सञ्चारकर्मीहरू पनि उपस्थित हुन आग्रह गरिन्छ मन्त्री जोशीले भनिन– प्रदेश सभा मामिला र सञ्चार क्षेत्र मन्त्रालयको सरोकारको क्षेत्र भएकाले व्यवस्थापन गर्न प्रयास गरिन्छ ।

त्यस्तै, प्रदेशका पालिकाहरूमार्फत बुस्टर डोज लगाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ । अब एक/दुई दिनमा प्रदेशका ९ वटै जिल्लामा अभियानका रुपमा ‘बुस्टर डोज’ दिन सुरु गरिने प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।

‘कोरोनाविरुद्धको खोपको बुस्टर डोज लगाउने अभियान सुरु गर्ने तयारी भइरहेको छ, प्रवक्ता कार्कीले भने, अबको एक/दुई दिन भित्रै खोप लगाउन सुरु हुन्छ । ९ वटै जिल्लामा खोप पठाउने कार्य भइरहेको छ ।

जहाँ खोप उपलब्ध हुन्छ त्यहाँबाट मानिसहरूले खोप लगाउन सक्ने उनले बताए । ‘खोप मंगलबार मात्रै आयो बुधबार जिल्लाहरूमा पठाईएको छ उनले भने ।

यस प्रदेशका लागि एक लाख पाँच हजार डोज कोभिशिल्ड र ५१ हजार डोज भेरोसेल खोप आएको उनले जानकारी दिए । उनका अनुसार बुस्टर जोड पालिकाहरूमार्फत जनताले पाउनेछन् । हामीले खोप जिल्ला स्वास्थ्यमा पठाउँछौं र त्यहाँबाट पालिकाहरूले पाउनेछन । खोप अभियान पनि पालिकाहरूले नै सञ्चालन गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार