१५ चैत्र २०८०, बिहीबार

सुदूरपश्चिम प्रदेश सभाका चार वर्ष




धनगढी / सुदूरपश्चिम प्रदेश सभा गठन भएको भोली (शुक्रबार) चार वर्ष पुग्दै छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले हरेक वर्ष माघ ७ गतेका दिन प्रदेश सभा स्थापना दिवस मनाउदै आइरहेको छ ।

चार वर्ष पूरा भएर पाँचौ वर्ष प्रवेशका अवसरमा यस वर्ष पनि प्रदेश सभा सचिवालयले तीन दिन विभिन्न कार्यक्रमसहित मनाउने तयारी गरेको छ ।

सचिवालयले दिवसको अवसरमा बुधबार सञ्चारकर्मीसंग भेटघाट कार्यक्रम भएको छ । कार्यक्रममा प्रदेश सभाका गतिविधिबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा कैलाली र कञ्चनपुरका आठ वटा विद्यालयका २४ जना विद्यार्थीको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा प्रदेश सभाका काम, कर्तव्य, अधिकार, कार्य सञ्चालन प्रक्रिया, सदनका कामकारबाही, लगायतका विषयमा जानकारी दिइने छ । त्यस्तै, भोली (शुक्रबार) प्रदेश सभा सचिवालयका कर्मचारी लगायतलाई सम्मान लगायतका कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

प्रदेश सभा स्थापनाका पाँच वर्षमा प्रवेश गर्दै गर्दा हालसम्म आठवटा अधिवेशनहरू भएका छन् । यी अधिवेशनहरूमा दुई सय ३० वटा बैठकहरू सम्पन्न भएको प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बताए । प्रदेश सभामा सबैभन्दा दोस्रो अधिवेशनमा बढी ५३ बैठकहरू र पाँचौ अधिवेशनमा सबैभन्दा कम १२ वटा बैठकहरू बसेका छन् ।

प्रदेशमा कार्यव्यवस्था परामर्श, विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थविकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेका छन् । यी समितिहरूको समयानुकुल बैठक बस्ने र सरकारका कामबारे निर्देशन दिने गरेका छन् ।

हालसम्म कार्यव्यवस्था परामर्श समितिको ९१, विधायन तथा प्रदेश मामिलाको ९०, सार्वजनिक लेखाको एक सय दुई, अर्थ विकास तथा प्राकृतिक स्रोतको एक सय ३६ र सामाजिक विकास समितिको एक सय १८ वटा बैठकले विभिन्न विषयगत समितिले सरकारलाई आवश्यकताअनुसार निर्देशन दिएको सभामुख थापाले बताए ।

भामुख थापाले भने– जनताको सरोकारका कानुन


प्रदेश सभा गठन भएको चार वर्ष पूरा भई पाँच वर्षमा प्रवेश गर्नै लाग्दा समेत प्रदेश सरकारले जनताका हीतमा काम गर्ने खालका कानुन निर्माण गर्न नसकेको भन्दै सञ्चारकर्मीहरूले सभामुख अर्जुन थापालाई प्रश्न गरे ।

प्रतिउत्तरमा सभामुख थापाले भने– प्रदेश सभाबाट पारित भएका सबै कानुन जनताका हितमा काम गर्नका लागि नै पारित भएका हुन् । कुनै न कुनै पक्षबाट यी कानुन आम जनताको सरोकारसंग जोडिएका छन्।

उनले संवैधानिक व्यवस्था अनुसार प्रदेश अधिकार क्षेत्रभित्र रहेका ऐन कानुनहरू निर्माण भइरहेको बताए । उनले चार वर्षसम्म आइपुग्दा प्रदेश सभाले आकार पाइसकेको बताए । हामीले सभालाई आवश्यक पर्ने संरचना, उपकरणहरू जडान गरिसकेका छौं ।

अब यो सभाले एक आकार लिइसकेको छ । अब भौतिक संरचना र उपकरणमा हामीले धेरै खर्च गर्नुपर्ने देखिएको छैन उनले भने । उनले प्रदेश सभा सचिवालयमा सबैभन्दा कम बजेट हुने गरेको बताए ।

उनले प्रदेश सभाको कामकारबाही, प्रदेश सभाले ऐन कानुन निर्माण गर्ने प्रक्रिया लगायतका बारेमा आममानिसलाई जनचेतना र जानकारी दिनुपर्ने बताए ।

प्रदेश सभाले गर्ने काम, कारबाही, प्रक्रियाबारे आम मानिसलाई जानकारी नहुँदा उनीहरूमा गलत बुझाइरहेको छ सभामुख थापाले भने– हामीले सबैलाई जानकारी दिनका लागि हरेक क्याम्पसमा नमुना सदन सञ्चालन गर्ने, सभामुखसंग जनतालगायतका कार्यक्रमहरू पनि गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार