२२ पुष २०८१, सोमबार

घुम्ती रगत संकलन बस हस्तान्तरण




धनगढी / घरघरमै पुगेर रगत संकलन गर्ने लक्ष्यसहित घुम्ती रगत संकलन बस सेवा शुरु हुने भएको छ ।

गैरआवासीय नेपाल संघले सोमबार कैलाली रेडक्रस सोसाईटीलाई घुम्ति रगत संकलन बस हस्तान्तरण गरेको छ ।

सोमबार एक संक्षिप्त कार्यक्रमबीच संघका अध्यक्ष कुमार पन्तले कैलाली रेडक्रस सोसाइटीका सभापति उत्तमराज जोशी र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलाई संयुक्तरुपमा बसको चाबी हस्तान्तरण गरे ।

सो घुम्ती वस रक्तदाताको घरमै पुग्ने जनाइएको छ । बसभित्र दुई वटा बेड राखिएका छन् । रक्तदाताहरूले आफुलाई पायक पर्ने ठाउमा बस बोलाएर रक्तदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

‘अहिलेसम्म रक्तदाताहरू रक्त संचार केन्द्रमा पुगेर अथवा विभिन्न संघंस्थाले आयोजना गर्ने कार्यक्रममा गएर रक्तदान गर्थे’ कैलाली रेडक्रसका सभापति जोशीले भने– अब हामी रक्तदाताको घरमै पुगेर रगत संकलन गर्ने छौं ।

सो बसको लागत ६० लाख रुपैया रहेको छ । संघका अध्यक्ष पन्तका अनुसार गैर आवासीय नेपालीहरूबाट ४८ लाख रुपैया सहयोग संकलन भएको छ ।

सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समिति, सुदूरपश्चिम समाज जापान, एनआरएनए अमेरिका, अस्ट्रेलिया , कोरिया, केन्या, सेसल्स, युगान्डा, जापान, क्यानडा, नाइजेरिया, साइप्रस, जाम्बिया, न्युजिल्यान्ड, नेदरल्यान्ड, घाना, जाम्बिया, सुदूरपश्चिम समाजहरू अमेरिका, टेक्सस अमेरिका, कोरिया, भिक्टोरिया अस्ट्रेलिया, सिडनी अस्ट्रेलिया र बेलायत, एनआरएन महिला समिति युरोप, अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसिसियसन, ह्य्मानिटी फाउन्डेसन, टीकापुर सरोकार समूह, रोटरी क्लब अफ न्युवर्क, एनआरएनए अन्तर्राष्ट्रिय समिति आदिको सहयोगमा सो बस खरिद भएको उनले बताए ।

अध्यक्ष पन्तले संघको मानव कल्याणकारी योजना अन्तर्गत यसअघि भरतपुर महानगरपालिकामार्फत चितवन रेडक्रसलाई घुम्ति बस हस्तान्तरण गरिसकेको बताए । ‘यो बस प्रदेश वा स्थानीय सरकारले पनि खरिद गरेर ल्याउन सक्छ’ उनले भने– हामीले मानव कल्याणका लागि यो काम गरेका हौं ।

सो अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख वडले घुम्ती रगत संकलन बसले प्रदेशमा माग अनुसारको रगत संकलनमा थप बल पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार