११ जेष्ठ २०७९, बुधबार

रोजगारीका क्रममा दुःख पाएकाहरूप्रति गम्भीर हुन आग्रह



धनगढी / नेपाली जनसम्पर्क समिति, भारतले भारतमा रोजगारीका क्रममा कुनै पनि किसिमको दुःखकष्ट पाएका नेपालीहरूप्रति गम्भीर हुन प्रदेश सरकारसंग माग गरेको छ ।

शुक्रबार धनगढीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नौ बुँदे ज्ञापनपत्र बुझाउँदै जनसम्पर्क समितिले भारतमा रोजगारीका क्रममा विभिन्न किसिमका दुःखकष्ट बेहोरिरहेका, अलपत्र परेकाहरूको उद्दार र सहयोग गर्न माग गरेको छ ।

मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै समितिका अध्यक्ष बालकृष्ण पाण्डेले प्रवासबाट फर्केर आएका नेपालीहरूलाई नागरिकताको प्रमाणपत्र पाउन असहज भइरहेको गुनासो व्यक्त गरे ।

ज्ञापनपत्रमा नेपाली युवाहरूलाई विदेश जानबाट रोक्नका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएर रोजगारीको व्यवस्थापन गर्नुपर्ने, भारत जाने प्रत्येक नागरिकहरूको तथ्यांक अभिलेखिकण गर्नुपर्ने, उनीहरूलाई परिचयपत्र सहित सिफारिसको व्यवस्था गरिनुपर्ने, र भारतबाट फर्केर आएका प्रत्येकलाई रोजगार, सीपमुलक तालिम, सस्तोमा व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने सुझाव दिए ।

उनले प्रवासमा रहेका नेपालीहरूलाई फोटोसहितको मतदाता नामावली बनाई प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गरे । कोभिडको तेस्रो लहरको प्रभाव बढेको छ । पहिलो र दोस्रो प्रभावलाई मध्यनजर गर्दै भारतबाट आउने जाने नेपालीहरूका लागि उचित व्यवस्था मिलाइयोस ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले राजनीतिक नेतृत्वले पहल नगर्दा भारतमा रोजगारीमा रहेका नेपालीहरूले दुख पाइरहेको बताए । भारतमा रोजगारीमा रहेका नेपालीहरूले यातना, विभेद, ज्यादतिमा भोगेकोबारे सबै ठुला नेतृत्वहरू जानकार छन् । तर, अहिलेसम्म कसैले पनि पहल गरेको छैन उनले भने ।

उनले भारतमा रोजगारीमा रहेका प्रदेशवासीले भोगिरहेका समस्याको समाधानको विषय केन्द्र सरकारको अधिकार क्षेत्र रहेको बताए । प्रदेश सरकारले भारत क्षेत्रमा प्रदेशवासीमाथि भइरहेको ज्यादति, यातना लगायतका विषयमा समाधान गर्ने अधिकार छैन उनले भने –हामीले प्रदेशबाट भारत जाने र आउनेको तथ्यांक सीमा क्षेत्रमै संकलन गरिरहेका छौं । आउने सबैको विवरण राखिएको भएपनि जानेहरूको विवरण संकलनमा समस्या रहेको छ ।

उनले प्रदेशमै दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकार लागिरहेको बताए । भारतबाट फर्केका नेपालीहरूलाई प्रदेशमै आत्मनिर्भर गराउन प्रदेश सरकारले रोजगारमुलक बनाउन सिपमुलक तालिम, कृषि तथा उद्योग क्षेत्रमा अनुदान लगायतका कार्यक्रम अघि बढाइरहेको छ उनले भने ।

उनले अब प्रदेश सरकारले सम्बन्धित स्थानीय तह र जिल्लामै भारत जाने र फर्कनेको विवरण संकलन गर्ने तयारी गरिरहेको बताए । भारत जाने व्यक्तिहरू हतारमा हुन्छन् । त्यसैले उनीहरू आफनो विवरण टिपोट गर्न पनि मान्दैनन । अब हामीले सम्बन्धित स्थानीय तह तथा जिल्लामै विवरण राख्ने व्यवस्था गरिरहेका छौं ।

मुख्यमन्त्री भट्टले काठमाडौंबाट सुदूरपश्चिमको विकासका लागि हेर्ने दृष्टिकोणमा फरक आउन नसकेको बताए । विगतमा पनि काठमाडौंबाट प्रदेशको विकासका लागि दृष्टिकोण ठिक थिएन । अहिले पनि त्यसमा खासै सुधार हुन सकेको छैन मुख्यमन्त्री भट्टले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार