१० श्रावण २०८१, बिहीबार

एमाले जिल्ला अधिवेशन : बैतडीमा पाल र डडेल्धुरामा साउँद अध्यक्षमा चयन




धनगढी/ नेकपा एमालेको जारी जिल्ला अधिवेशनका क्रममा सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र बैतडीमा आइतबार सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद निर्वाचित भएका छन् । त्यस्तै, बैतडीमा सुरेन्द्रबहादुर पाल सर्वसम्मत ढंगले चयन भएका छन् ।
डडेल्धुरामा अध्यक्ष पदका अर्का उम्मेदवार विश्वेश्वरप्रसाद (विपिन) ओझाले आइतबार अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि साउँद सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।

एमाले निर्वाचन समितिका अनुसार डडेल्धुरा कमिटी उपाध्यक्षमा धनबहादुर धामी, सचिवमा गजेन्द्र शाही र उपसचिवमा मीन बोगटी तथा अञ्जु गैह्रे चयन भएका छन् ।

त्यस्तै, अन्य सबै पदहरू पनि निर्विरोध निर्वाचित भएका छन् । बैतडीमा पनि सहमतिबाट नै नेतृत्व चयन भएको छ । एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार बैतडीमा पुनः पाल नै अध्यक्षमा चयन भएका हुन् ।

दुई दिनसम्मको प्रयासपछि अध्यक्ष पदका अर्का उम्मेदवार गोरखबहादुर चन्दले उम्मेदवारी फिर्ता लिएपछि पदाधिकारी र सदस्यहरूहरू सबै पदमा सर्वसम्मतिले चयन भएको जनाइएको छ ।

बैतडी एमाले कमिटी उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारी चयन भएका छन् ।
कैलालीमा भने आइतबार रातीसम्म मतदान प्रक्रिया शुरु भएको छैन । आइतबार साँझ आजै मतदान गर्ने र भोली गर्ने भन्नेमा विवाद भएपछि कार्यकर्ताहरूबीच नै झडपको अवस्था सिर्जना भएको थियो ।

कैलाली एमाले नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

थापा प्यानलबाट उपाध्यक्षमा दुर्गाप्रसाद जोशी, सचिवमा दानबहादुर विक र सहसचिवमा प्रेमबहादुर डगौंरा र मदनराज ओझा उम्मेदवार रहेका छन् ।

त्यस्तै, चन्द प्यानलबाट सीताराम बुढाथोकी, सचिवमा डेजी पाण्डेय र सहसचिवमा लोकन्द्र शाही तथा ममताप्रसाद चौधरी उम्मेदवार रहेका छन्् । नेतृत्व चयनका लागि शनिबार नै उम्मेदवारहरूको मनोनयनपत्र दाखिला प्रक्रिया पुरा भइसकेको छ ।

१५० सदस्यीय जिल्ला कमिटीका लागि ३२९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । खुला महिलातर्फ १२ महिला सिट, भूगोल (संघीय निर्वाचन क्षेत्र) का २५ महिला सिट तथा जनजातितर्फका दुई महिला पद भने निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश सचिव पाठकका अनुसार भोली (२६ गते) बिहानदेखि मतदान प्रक्रिया शुरु हुनेछ ।

कञ्चनपुरमा आइतबार साँझसम्म पनि मनोनयनपत्र दर्ता प्रक्रिया शुरु भएको छैन । कञ्चनपुरमा जिल्ला नेतृत्वका लागि भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्रबहादुर बिष्ट र वर्तमान अध्यक्ष वीरबहादुर थापाको दाबी रहेको छ ।

एमाले स्रोतका अनुसार कञ्चनपुर र बझाङको नेतृत्व एमालेमा रहेका माओवादी केन्द्र पक्षलाई दिने सहमति भएको थियो । थापा पूर्व माओवादी हुन् । तर, एमालेका अधिकांस नेताकार्यकर्ताहरू भने कञ्चनपुरमा निर्वाचनबाट नै नेतृत्व चयन हुनुपर्छ भन्ने अडानमा रहेको बताइन्छ ।

दार्चुलामा पनि सर्वसम्मतिबाट नेतृत्व चयनको प्रयास भइरहेको प्रदेश सचिव पाठकले बताए ।

दार्चुला एमाले अध्यक्षमा उदयसिंह वडाल, प्रेमसिंह धामी, मोहनसिंह धामी र ज्ञानेन्द्र कार्कीको उम्मेदवारी दर्ता भएको छ ।
बाजुरामा जिल्ला अध्यक्षका लागि लालबहादुर ओली, कालिबहादुर शाही र भरत थापाबीच प्रतिस्पर्धा रहेको छ । बाजुरामा आइतबार साँझबाट बन्दसत्र शुरु भएको छ ।

अछाममा अध्यक्षका लागि चन्द्र बोहरा र प्रकाश शाहको उम्मेदवारी रहेको छ । बोहरा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर मानिन्छन् भने शाहलाई नेता भीम रावलको समर्थन रहेको छ ।

डोटीमा पनि सहमतिका लागि आइतबार साँझ बन्दसत्र स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार