१३ बैशाख २०८१, बिहीबार

एमाले कैलालीको जिल्ला अधिवेशन : थापा, चन्द र पाण्डे अध्यक्षका दाबेदार




धनगढी / कैलाली सहित सुदूरपश्चिम प्रदेशका नौमध्ये आठ जिल्लामा भोली (शुक्रबार) नयाँ नेतृत्व चयन गर्नका लागि जिल्ला अधिवेशन हुँदैछन् ।

तत्कालीन नेकपालाई अदालतले अस्वीकार गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँत्याइदिएपछि र एमालेमा विभाजन आएपछि पहिलो पटक जिल्ला अधिवेशन भइरहेका छन् ।

प्रदेशका सबै जिल्लामा एमालेको वडा तथा पालिका अधिवेशन भइसकेका छन् । ती अधिवेशनहरुबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरु छनोट भइसकेका छन् ।

एमालेमा विभाजन आएपछि हुन लागेको अधिवेशनहरुले के सन्देश दिने अपेक्षा गरिएको छ ? एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकले भने– हाम्रो दशौं राष्ट्रिय महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादलाई समाप्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको स्थापनामा जोड दिएको छ । हाम्रा जिल्ला अधिवेशनहरु पनि यही पृष्ठभूमिमा हुने अपेक्षा गरेका छौं ।

एमाले प्रदेश सचिव पाठकको दाबी छ– अहिलेको एमाले तत्कालीन नेकपा, १० बुँदे सहमती र केपी ओलीले नेतृत्व गरेको एमालेको निरन्तरता हो । उनले थपे– जिल्ला अधिवेशनमार्फत एमालेलाई आमजनतामाझ पुर्याउने र आगामी तीन तहका निर्वाचनमा पार्टीलाई अब्बल बनाउनेतर्फ हामी केन्द्रीत छौं ।

जिल्ला अधिवेशनको एक दिन बाँकी रहँदा प्रत्यृेक जिल्लामा नयाँ नेतृत्वका लागि आकांक्षीहरु चुनावी मैदानमा उत्रिने क्रम जारी छ । प्रदेश सचिव पाठकका अनुसार अधिवेशनबाट प्रत्येक जिल्लामा कम्तिमा ७५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुन्छ भने प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट १५ जनाका दरले जिल्ला सदस्यहरु निर्वाचित हुनेछन् ।

एमालेमा अधिवेशनबाट जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना सहसचिव तथा भूगोल (संघीय निर्वाचन क्षेत्र), खु्ला (हल) र समावेशी सदस्यहरु निर्वाचित हुने विधानमा व्यवस्था गरिएको छ । त्यस्तै, जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने जिल्ला कमिटीले १० प्रतिशत सदस्य मनोनित गर्न पाउँछ ।

जिल्ला अधिवेशनको एक दिनअघिसम्म कैलालीमा तीन जनाले अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । प्रदेश सभा सदस्य रतनबहादुर थापा, जिल्ला उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला सचिवालय सदस्य डेजी पाण्डेयले अध्यक्षका लागि आफूलाई प्रस्तुत गरेका छन् ।

तपाईंको उम्मेदवारीको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ? अनुमोदन दैनिकको प्रश्नमा अध्यक्षका दाबेदार चन्दले भने– २८ वर्षदेखि विद्यार्थी संगठन र पार्टीका नगर र जिल्ला कमिटीका विभिन्न पदमा रहेर काम गरेको म स्वाभाविक उम्मेदवार हुँ । अहिले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्को रुपमा उठेको छ र यो बहसको नेतृत्व मैले गरेको छु ।

उनले तत्कालीनरुपमा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि भताभुंग भएको पार्टी संगठनको पुनःनिर्माण र पुनव्र्यवस्थित गर्ने अभिभारा आफूले कुशलतापूर्वक निर्वाह गर्नसक्ने दाबी गरे । भने– हामीले कैलालीमा गत स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सबैभन्दा राम्रो परिणाम प्राप्त गरेका थियौं । पार्टी विभाजनले केही प्रभाव पारे पनि अब हामी जिल्ला अधिवेशनमार्फत पार्टीलाई व्यवस्थित गरेर जनतामाझ जान्छौं ।

उनले जातीय, क्षेत्रीय, वर्गीय, भाषिक विविधता भएको कैलालीको सामाजिक मनोविज्ञान आफूले राम्रोसंग बुझेकोले पनि ती सबैलाई व्यवस्थित गर्नसक्ने क्षमता रहेको दाबी गरे ।

अध्यक्षका अर्का दाबेदार डेजी पाण्डेयले आफ्नो २५ वर्षको एमालेको राजनीतिक यात्राका क्रममा सामाजिक रुपान्तरणको प्रक्रियालाई मुर्तरुप दिन आफूले नेतृत्वको दाबी गरेको बताए । उनले भने– म पार्टीमा ढुंगामुढा गर्न वा नाराजुलुस गर्न मात्रै लागेको होइन, पार्टीमार्फत समाजको आर्थिक, सामाजिक रुपान्तरणका मेरा सपनाहरुलाई साकार पार्न लागेको हुँ ।

उनले आफूले कैलालीको सामाजिक मनोविज्ञान र अन्तरविरोधहरु राम्ररी बुझेकोले ती सबैको सम्बोधनको क्षमता र कौशलता आफूसंग रहेको दाबी गरे । भने– हामी अहिले पनि पहिलो पार्टी नै हौं । आगामी निर्वाचनमार्फत हामीले संख्या र लोकप्रिय मतका दृष्टिकोणले एमालेलाई पहिलो पार्टी बनाउने अभिभारा पूरा गर्नुपर्ने चुनौति छ ।

उनले एमाले पार्टीपंक्तिले आफूलाई सामाजिक, आर्थिक, पार्टीको सिद्धान्त, कार्यभार राम्रोसंग बुझेको र आम कार्यकर्ता तथा जनतामा कुुशलतापूर्वक प्रवाह गर्नसक्ने क्षमता भएको व्यक्तिकारुपमा लिएको दाबी गरे ।

एमालेको जिल्ला अधिवेशनका लागि ५५० प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार