राष्ट्रियसभा सदस्य निर्वाचनका एमालेका भट्ट, शर्मा र विकद्धारा उम्मेदवारी दर्ता

धनगढी / राष्ट्रियसभा सदस्यका लागि नेकपा (एमाले) का तीन उम्मेदवारहरुले धनगढीस्थित निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन् ।
खुलाबाट पुराना वामपन्थी उम्मेदवार डोटीका डिल्लीराज भट्ट, महिलाबाट कैलालीका सन्तोषकुमारी शर्मा र दलितबाट बैतडीका नरेश विकले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेका उम्मेदवारहरुले एक जुलुस सहित उम्मेदवारी दर्ता गर्न गएका थिए । सातवटै प्रदेशमा माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ ।
एमालेका प्रदेश सचिव धर्मराज पाठकले आफ्ना उम्मेदवार जित्ने गरेर रणनीति बनाइरहेको बताए ।
उम्मेदवारी दर्ता कार्यक्रममा एमालेका प्रदेश अध्यक्ष दमोदर भण्डारी लगायतका नेताहरुको उपस्थिति थियो ।
सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १७५ स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका ५२ जना सदस्य मतदाता छन् । स्थानीय तहका एक मतदाताको मतभार १८ छ । यस्तै प्रदेश सभाका एक मतदाताको मतभार ४८ कायम गरिएको छ ।





