५ पुष २०८२, शनिबार

सामुदायिक पुस्तकालयलाई सञ्चालन खर्च अभाव




टीकापुर / टीकापुर बजारको मध्ये भागमा टीकापुर सामुदायिक पुस्तकालय छ । पुस्तकालयभित्र साढे आठ हजार पुस्तक छन्, वाचनालय छ, बाल कक्ष छ, विदाको दिन र साँझको समयमा बाल कक्षमा बालबालिका खेलिरहेका हुन्छन् ।

पुस्तकालयमा १८ वटा ल्यापटप र कम्प्यूटर रहेको सूचना प्रविधि कक्ष छ त्यहाँ बालबालिकाहरु कम्प्यूटर सिकिरहेका हुन्छन । एकदमै व्यस्त देखिने टीकापुर सामुदायिक पुस्तकालय सञ्चालनका लागि लाइबे्ररियन, कम्प्यूटर प्रशिक्षक, प्रशासन सहायक र सहयोगीहरु गरेर चार जना कर्मचारी छन् ।

भौतिकरुपमा भव्य देखिने र सबैले उपयोग गर्ने पुस्तकालयमा काम गरिहेका कर्मचारीले एकदमै न्यून पारिश्रमिकमा काम गरिरहेका छन् पछिल्ला तीन महिना यता त्यही पारिश्रमिक पनि पाउन सकेका छैनन् ।

टीकापुर नगरपालिका–७ सत्तीस्थित भानु सामुदायिक पुस्तकालयको आर्थिक अवस्था पनि यस्तै छ । २०४९ सालमा स्थापना भएको भानु पुस्तकालयको आफ्नै भवन छ पाँच हजार पुस्तक, ११ वटा ल्यापटप छन् । बाल कक्ष छ । भवन बनाउन रिड नेपाल संस्था, स्थानीय र प्रदेश सरकारको बजेट खर्च भएको छ ।

यहाँ दुई जना कर्मचारीले मात्रै सबै काम गर्नुपर्ने बाध्यता छ आम्दानीको स्रोतको रुपमा दुई वटा सटर र हलभाडा छ तर कोरोनाका कारण कार्यक्रम बन्द भएकाले हलभाडामा जादैन एउटा सटर खाली छ मासिक एक हजार दुई सयका दरले भाडामा लागेको भएपछि पछिल्ला डेढ वर्षयता भाडा असूल भएको छैन् ।

सीमावर्ती भजनी नगरपालिकास्थित जनता पुस्तकालय पनि एक जना कर्मचारीको भरमा चलेको छ । सात हजार ५०० पुस्तक, सात वटा ल्यापटपबाट कम्प्यूटर शिक्षा दिइरहेको जनता पुस्तकालयको आम्दानी तीन वटा सटर मात्रै हो । तीन वटै सटरबाट मासिक दश हजार आम्दानी हुने भएपछि पछिल्ला चार महिना यताको भाडा पनि उठेको छैन् ।

‘अहिले कम्प्यूटर प्रशिक्षण रिड नेपाल संस्थाले दिएको कार्यक्रमका कर्मचारीले दिइरहनु भएको छ कार्यक्रम सकिने वित्तिकै कम्प्यूटर प्रशिक्षक राख्नु पर्छ,’ पुस्तकालयका अध्यक्ष नवराज मिश्र भन्छन् ‘वि.सं. २०१५ सालमा खुलेर २०३७ सालसम्म चलेको भानु पुस्तकालय आर्थिक समस्या भएपछि गाउँ पञ्चायतलाई बुझाउदा बन्द भएको थियो, २०६९ मा रिड नेपाल संस्थाले सहयोग गरेपछि भवनसहित पुस्तकालय पनि चलेको छ अहिले पनि आर्थिक समस्या छ ।’

पूर्वाधार र उपकरणमा रिड नेपाल संस्था, स्थानीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट अनुदान दिइएको छ । तर सञ्चालन खर्च नहुँदा पुस्तकालय सञ्चालनमा कठिनाइ भइरहेको छ ।

टीकापुर सामुदायिक पुस्तकालयमा १० वर्षदेखि कार्यरत रमिता न्यौपाने पुस्तकालयको आर्थिक अवस्था देखेर दिक्क छिन । ‘मासिक ११ हजार पारिश्रमिकले घरखर्च पनि नधान्ने भएपछि छोडौं कि बसौं लाग्छ,’ नेपाली विषयमा स्नात्तकोत्तर गरेकी न्यौपाने भन्छिन, ‘तर पुस्तकालय हेर्दा माया लाग्छ, टीकापुरभन्दा बाहिर पाएका रोजगारीका अवसर पनि लिन सकेकी छैन । न्यौपाने सबैभन्दा पुरानो पुरानो कर्मचारी हुन ।

पुस्तकालयलाई दक्ष जनशक्ति चाहिन्छ तर पारिश्रमिक न्यून भएका कारण टिक्न सक्दैनन् । ‘अहिले नगरपालिका र प्रदेश सरकारबाट बजेट माग गरी व्यापारिक पसलहरु बनाएर मासिक ४० हजार भाडा आउने भएको छ तर पछिल्ला तीन महिनाको भाडा पनि उठेको छैन्’ टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष लोकबहादुर खड्का भन्छन् , ’चार जना कर्मचारीलाई अहिले दिएको भन्दा धेरै तलव दिन सकिदैन ।’

पुस्तकालयले कम्प्यूटर तालिम दिइरहेको छ तर यसको शुल्क तीन महिनाको आधारभूत तालिमका लागि एक हजार ५०० मात्रै तोकिएको छ, विपन्नलाई कम्प्यूटर तालिम दिने भएकाले यसलाई पनि बढाउन नसकिएको पुस्तकालयका अध्यक्ष खडका बताउछन् । पुस्तकालयमा इन्टरनेट, विद्युत, मर्मत जस्ता शीर्षकमा खर्च भने भइरहन्छ ।

भानु सामुदायिक पुस्तकालयका सचिव मनिराम ढुङ्गाना भन्छन् ‘पुस्तकालयले दैनिक सेवा दिनुपर्छ, मासिक छ÷सात हजार तलवमा कर्मचारी कसरी टिकाउने ?’

सुदूरपश्चिम विश्वविद्यालय ग्रामीण विकास विषयका उपप्राध्यापक मीनबहादुर शाही समाजका लागि अति उपयोगी सामुदायिक पुस्तकालयहरुको आर्थिक दिगोपन नहुँदा यहाँ कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक दिन समस्या भइरहेको बताउछन् ।

‘सामुदायिक संस्थाहरुका लागि प्रदेश सरकार र स्थानीय सरकारले नियमित अनुदान दिने व्यवस्था हुनुपर्छ,’ उपप्राध्यापक शाही भन्छन् , ‘पुस्तकालयहरुले पनि आयआर्जन बढाउन सामाजिक व्यवसाय पनि शुरु गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार