१४ बैशाख २०८१, शुक्रबार

कोभिडविरुद्ध लड्न थप समन्वयको खाँचो : राज्यमन्त्री खापुङ




धनगढी / सङ्घीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले कोभिड १९ को महामारीबाट जोगिन सङ्घ, प्रदेश, स्थानीय तहसंग थप समन्वय हुन जरुरी भएको बताए ।

सो मन्त्रालयको आयोजनामा आइतबार धनगढीमा भएको कोभिड १९ को महामारी नियन्त्रण एवम् रोकथाम तथा खोप सम्वन्धी सरोकारवालासंगको अन्र्तक्रियामा बोल्दै उनले काठमाडौमा सुनिए भन्दा सुदूरपश्चिममा महामारी नियन्त्रणका लागि भएका प्रयास सन्तोषजनक भएको बताए ।

सोही कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले खोप ढुवानी गर्ने साधनको अभावमा पनि कतिपय स्थानमा खोप कार्यक्रम प्रभावकारी हुन नसकेको बताए ।

उनले सुदूरपश्चिमेलीहरु काममा लागि भारत धेरै जाने भएकोले खोप लगाउने राखिएको राष्ट्रिय लक्ष्य पूरा हुन कठिनाइ हुने पनि बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुज भट्चनले वागमती र गण्डकी प्रदेशको तुलनामा सुदूरपश्चिम, कर्णाली, प्रदेश नम्बर २ र प्रदेश नम्बर १ मा कोरोना खोप लगाउने कार्यक्रम निक्कै पछाडि भएको तथ्यांक प्रस्तुत गरे ।

उनका अनुसार पहिलो र दोस्रो मात्राको खोप पुस मसान्तसम्ममा देशभर ६६ प्रतिशत पुगाउने लक्ष्य राखिएकोमा अहिलेसम्म पहिलो ६५ र दोस्रो ५२ प्रतिशत मात्र रहेको बताए ।

सो अवस्था प्रदेशगतरुपमा वागमतीमा खोप लगाउने दर पहिलो ७६ दोस्रो ७२, गण्डकीमा पहिलो ८२ दोस्रो ७३, लुम्विनीमा पहिलो ७१ दोस्रो ४४, सुदूरपश्चिममा पहिलो ६० दोस्रो ४६ कर्णालीमा पहिलो ५१ दोस्रो ४० प्रदेश नम्बर २ मा पहिलो ४८ दोस्रो ३७ र प्रदेश नम्बर १ मा पहिलो ६२ दोस्रो ४८ प्रतिशत खोप पुगेको छ ।

सुदूरपश्चिममा बाजुरा, कञ्चनपुर र दार्चुलामा भने खोपको अवस्था राम्रो रहेको छ । बाजुरामा ९०, कञ्चनपुर ७५ र दार्चुला ७३ प्रतिशतले खोप लगाएका छन् । सबैभन्दा धेरै जनसंख्या भएको कैलालीमा अहिलेसम्म ५४ , बझाङमा ५० , डोटीमा ४५, अछाममा ५४ , र डडेल्धुरामा ४८ प्रतिशतले खोप लगाएका छन् ।

सुदूरपश्चिममा १२ वर्षमाथिकाको लक्षित संख्या २२ लाख ८३ हजार २१७ रहेकोमा अहिलेसम्म १३ लाख ६२ हजार ४८६ जनाले खोप लगाएका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य सचिव मधुसुधन बुर्लाकोटीले भारत जाने नेपाली र भारतबाट आउने भारतियले एकअर्को देशमा खोप कार्डका आधारमा दोस्रो खोप लगाउने गरेर राजनीतिक तहबाट पहल हुनु पर्ने बताए ।

स्वास्थ्य कार्यालय अछामका झनक ढुंगानाले जनसंख्या अछाममा देखिए पनि धेरै नागरिक भारत र रोजगारीमा गएकोले लक्ष्य लिए अनुसार कोरोना खोप दिन कठिनाइ हुने बताए ।

कैलालीका स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले कोेरोना रोकथाम तथा नियन्त्रणका लागि वसपार्क, भन्सार लगायतका क्षेत्रमा समेत खोप लगाउने व्यवस्था गरिएको बताउदै गोठालो जाने लगायतका समूहलाई खोपमा समेट्न कठिन भएको बताए । उनले बुढापाकालाई बृद्धभत्तामा जोडेर खोप कार्यक्रममा सहभागी गराउनु पर्ने बताए ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भौगोलिक विकटता, इन्टेरनेटको समस्या, कर्मचारीको सेवा सुविधा राम्रो नहुँनु, कर्मचारीले समयमै पारिश्रमिक नपाउनु, खोपमा विश्वास नहुनुले पनि खोप कार्यक्रम अपेक्षा गरिए जस्तो प्रभावकारी हुन नसकेको बताए ।

उनले महिला स्वयम्सेविकालाई राम्रो सुविधा दिएर परिचालन गर्दा कोभिड विरुद्धको खोप कार्यक्रम प्रभावकारी हुने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार