५ पुष २०८२, शनिबार

काँग्रेस कैलालीको जिल्ला अधिवेशन : आकांक्षीहरूको दौडधुप बढ्यो



लाइनको प्रतिक्षा र लाइन तोड्नेहरूबीच प्रतिस्पर्धा



धनगढी / आगामी २७ गते हुने नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन नजिकिएसंगै जिल्लामा चुनावी सरगर्मी बढेको छ ।

जिल्ला पार्टी नेतृत्व लिनका लागि उम्मेदवारहरू थपिने क्रम जारी छ । सभापतिदेखि उपसभापति, सचिव, सहसचिव तथा सदस्य पदका लागि आकांक्षीहरूले पत्रकार सम्मेलनदेखि सामाजिक सञ्जालमार्फत आआफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

आकांक्षीहरू अहिले वडादेखि पालिका र क्षेत्रीय स्तरका कार्यकर्ता भेटघाट, छलफलमा जुटेका छन् ।

काँग्रेस कैलालीको सभापतिका लागि अहिलेसम्म पाँच जना आकांक्षी देखिएका छन् । संस्थापन पक्षधर नै मानिएका हालका उपसभापति प्रकाशबहादुर बम, पूर्व उपसभापति नारायणदत्त भट्ट, भीम बडुवाल, गणेशबहादुर देउवा र खेम चौधरीले दाबी प्रस्तुत गरेका छन् ।

त्यस्तै, संस्थापन बाहेकको पक्षबाट पनि सभापतिदेखि सबै पदमा उम्मेदवारीका लागि छलफल तीब्र बनाएको देखिएको छ ।
कैलाली का“ग्रेस जिल्ला अधिवेशनमा २५ सय बढी मतदाता (क्षेत्रीय प्रतिनिधि) रहेका छन् । जिल्लामा संस्थापन पक्षको बहुमत रहेको छ । तर, संस्थापन पक्षबाटै पाँच जना उम्मेदवार कायमै रहे प्रतिस्पर्धा रोचक हुने देखिँदैछ ।

कैलालीमा निवर्तमान जिल्ला सभापति (हाल प्रदेश महामन्त्री) नरनारायण शाहको एउटा समुह रहेको छ भने नारायणदत्त भट्टको छुट्टै समुह रहेको छ । संस्थापन पक्ष निकट भए पनि गणेश देउवा र भीम बडुवालको आआफ्नो समुह रहेको छ । सभापतिका आकांक्षीद्वय प्रकाश बम र खेम चौधरी प्रदेश महामन्त्री शाह निकट मानिन्छन् ।

सभापतिका आकांक्षी सबैले जुनसुकै अवस्था आए पनि चुनाव लड्ने बताइरहे पनि संस्थापन पक्षको नेतृत्वको दबाव आएमा केही आकांक्षीहरू “ब्याक” हुनसक्ने आँकलन गरिँदैछ । आकांक्षी सबै जना संस्थापन नेतृत्वबाट आधिकारिक उम्मेदवारी पाउन पनि दौडधुप गरिरहेका छन् ।

संस्थापन बाहेकका पक्षका एक नेताले भने– प्रदेश अधिवेशनमा जस्तै जिल्लामा पनि अन्तिम अवस्थामा संस्थापन पक्षका सबैलाई मिलाएर एउटै प्यानल बनाउने बलियो सम्भावना छ । अहिले सबै जना केन्द्रको “लाइन” को प्रतिक्षामा देखिन्छन् । आफ्नो पक्षमा लाइन आएन भने अहिले देखिएका आकांक्षीहरूले के गर्छन् ? प्रतिक्षा गर्नुपर्छ ।

कैलालीको जिल्ला नेतृत्वमा १२ औं महाधिवेशनदेखि नै संस्थापन पक्षको नेतृत्व रहेको छ । यद्दपि, १३ औं महाधिवेशनदेखि संस्थापन पक्षभित्रै गुटउपगुट बन्ने र भत्किने क्रम जारी छ । १४ औ महाधिवेशनसम्म आइपुग्दा संस्थापन पक्षका दुई स्पष्ट धार देखिएका छन् ।

संस्थापन पक्षबाटै पाँच जनाले आआफ्नो प्यानलसहित चुनावमा जाने तयारी गरिरहँदा संस्थापन बाहेकको पक्षले चाही के रणनीति बनाइरहेको छ ? संस्थापन बाहेकका पक्षका नेता तथा जिल्ला सचिव पूर्ण कुँवरले भने– आगामी दिनका चुनौतिहरूको सामना गर्ने बलियो पार्टी बनाउन सबै पक्षलाई समेटेर सबैको अस्तित्वको सम्मान हुनेगरी सर्वसम्मत ढंगले नेतृत्व चयन हुनसके निकै राम्रो हुनेछ । हामी यसका लागि तयार नै छौं ।

तर, अर्को पक्षले अरुको अस्तित्व नै स्वीकार गर्न नचाहने, बहुमतका आडमा अल्पमत पक्षलाई पेलेरै जाने मानसिकता बनायो भने हामी आफ्नो सशक्त उपस्थिति देखाउने छौं ।

सचिव कुँवरले आगामी अधिवेशनमा संस्थापन बाहेकको पक्ष कसरी प्रस्तुत हुने भन्नेबारे निरन्तर छलफलमा रहेको बताए । “ काँग्रेसको हीत भनेको सबै पक्षबीचको सौहार्दपूर्ण एकता नै हो । यो सबै तह र संरचनामा देखिनु पर्दछ । अरुको अस्तित्व स्वीकार गर्न गाह्रो मान्ने मानसिकताले निरन्तरता पायो भने पार्टीका लागि दुर्भाग्य मात्रै हुनेछ” उनले भने– यसले आसन्न तीन तहका निर्वाचनदेखि अन्य चुनौतिहरूको प्रभावकारी ढंगले सामना गर्ने कुरामा कठिनाई हुनसक्छ ।

अहिलेसम्म आआफ्नो उम्मेदवारी घोषणा गरेर प्यानल निर्माणमा जुटेका आकांक्षीहरू सबैले आफु नै बलियो र योग्य उम्मेदवार रहेको दाबी गरिरहेका छन् । पार्टीका वर्तमान उपसभापति समेत रहेका प्रकाशबहादुर भन्छन्– मैले लामो समयदेखि व्यापक तयारी गरेको छु । जिल्लाका नेता र कार्यकर्ताहरूको मलाई अपार समर्थन र साथ छ, तर केन्द्रका नेताहरूले के गर्नुहुन्छ ? थाह छैन ।

उनले आफूले महाधिवेशन प्रतिनिधिमा जितिसकेपछि पनि अर्को पक्षबाट जबरजस्ती हराउने प्रयास भएको घटनाले जिल्लाका प्रायः नेता, कार्यकर्ताहरूको सहभानुभूती पाएको दाबी गरे । उनले भने– मैले हरेक वडाका साथीहरूलाई भेटेको छु । सबैको समर्थन पाएको छु । म प्यानलसहित नै निर्वाचनमा जान्छु ।

उनले पार्टीलाई एकढिक्का बनाउने आफ्नो लक्ष्य रहेको बताए ।

सभापतिका अर्का आकांक्षी नाराणदत्त भट्टले आफूले निकै पहिलेदेखि चुनावको तयारी गरेको बताए । उनले भने– म प्यानलसहित नै चुनाव लड्दैछु । म जीतप्रति पूर्ण विश्वस्त छु । केन्द्रको लाइन मेरो पक्षमा छ ।

मलाई लाग्छ– जिल्लाका सबै नेताहरूलाई यसबारे केन्द्रीय नेतृत्वबाट निर्देशन भइसकेको छ । केन्द्रमा उहाँ (शेरबहादुर देउवा) लाई नेता मान्ने, अनि उहाँले भनेको नमान्ने भन्ने हुँदैन । त्यसैले संस्थापन पक्षका सबै आकांक्षीहरूलाई मिलाएर एउटै प्यानल बन्ने बढि सम्भावना छ ।

उनले आफूले शुरुदेखि नै पार्टीलाई विधि, प्रक्रिया र पद्धति अनुसार व्यवस्थित ढंगले चलाउनु पर्छ भन्दै आएको बताए । भने– यो मेरो दृढ प्रतिवद्धता पनि हो । युवाको सहभागिता र अग्रजहरूको सम्मान सहित मेरो होइन हाम्रो काँग्रेस बनाउने मेरो लक्ष्य हो । पार्टीमा समुहहरू हुन्छन् नै, तर हामी सबै काँग्रेस हौ ।

त्यसैले प्रतिशोधका आधारमा होइन, पार्टीलाई विधि र पद्धतिअनुसार एकतावद्ध बनाउँदै लैजानु पर्छ ।

सभापतिका अर्का आकांक्षी गणेश देउवाले पनि आफू प्यानलसहित नै चुनावमा जाने तयारीमा रहेको बताए । उनले भने– मैले संस्थापन पक्ष (देउवा) बाटै चुनाव लड्ने हो । मलाई लाग्छ उहाँ (सभापति देउवा) ले अहिलेसम्म कसैका पक्षमा कुरा गर्नु भएको छैन । तर, जुनसुकै अवस्था आए पनि म चाही चुनाव लड्छु ।

उनले आफूले चार दशकदेखि पार्टीमा काम गर्दै आएको, प्रजातन्त्र पुनस्र्थापनाका लागि भएका हरेक आन्दोलनमा भाग लिएको, जेलनेल भोगेको भए पनि अहिलेसम्म पार्टीमा कुनै अवसर नपाएको गुनासो गरे ।

उनले थपे– पछिल्ला वर्षहरूमा कैलालीमा काँग्रेस निकै कमजोर भयो । मैले तीन जना सभापतिसंग जिल्ला सदस्य रहेर काम गरे । १२ औं महाधिवेशन अघिका सबै जिल्ला कार्यसमितिका पालामा पार्टीले जिल्लामा हरेक तहका निर्वाचनमा राम्रो परिणाम ल्याएको थियो ।

तर त्यसपछिका दिनमा हामी हरेक निर्वाचनमा कमजोर भयौं । त्यसैले अब सशक्त खालको जिल्ला पार्टी नेतृत्व आवश्यक भइसकेको छ ।
उनले आफूले वडादेखि जिल्लासम्म चलायमान र बलियो पार्टी संगठन बनाउने अठोट लिएको बताए ।

सभापतिका अर्का आकांक्षी खेम राज चौधरीले आफ्नो उम्मेदवारी कायमै रहेको बताए । उनले भने– केन्द्रीय सभापति र अरु नेताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छु । जिल्लामा सबै नेताहरूको समर्थन पाएको छु ।

उनले आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्न तर्क दिए– चितवनदेखि कञ्चनपुरसम्म थारु समुदायको बाहुल्यता छ, तर कुनै पनि जिल्लामा थारु समुदायको जिल्ला सभापति अहिलेसम्म बन्न सकेको छैन । कैलालीमा अरु ठूला पार्टीहरूको जिल्ला नेतृत्व थारु समुदायले गरेका छन्, तर काँग्रेसमा अहिलेसम्म किन सभापति बनाइएन ? भन्ने प्रश्न हो ।

उनले आफूसंग सबै जातजाती, क्षेत्रलाई मिलाएर पार्टीलाई बलियो बनाउन सक्ने क्षमता रहेको दाबी गरे । भने– म दुई पटक क्षेत्रीय सभापति भइसके । का“ग्रेसका तर्फबाट वडादेखि प्रतिनिधि सभा सदस्य निर्वाचन लडिसके । त्यसैले मैले आफूलाई बलियो उम्मेदवारका रुपमा उभ्याएको छु ।

अहिलेका सभापतिका आकांक्षीहरूमध्ये सबैभन्दा कान्छा भीम बडुवालले पनि प्यानलैसहित निर्वाचन लड्ने तयारी गरेको बताए । उनले भने– म आशिर्वाद र लाइनको मान्छे होइन । मेरो आग्रह के मात्रै हो भने केन्द्रीय नेतृत्व पंक्तिले जिल्लाको निर्वाचनमा कुनै किसिमको हस्तक्षेप नगरिदिनुस् ।

उनले काँग्रेस पार्टीलाई युवामैत्री तथा रचनात्मक पार्टी बनाउने आफ्नो लक्ष्य रहेको तबाए । भने– हामीले आगामी तीनै तहका निर्वाचनमा जिल्लामा कम्तिमा दुई तिहाई बहुमत ल्याउनु पर्छ । त्यसका लागि मैले उपलब्धीमुलक ढंगले काम गर्नसक्छु ।

भरखरै प्रदेश महामन्त्रीमा निर्वाचित कैलालीका निवर्तमान सभापति नरनारायण शाह चाही पार्टी निर्वाचनमा कसका पक्षमा पक्षमा उभिन्छन् ? अहिले आम काँग्रेस कार्यकर्तामाझ चर्चाको विषय बनेको छ । केन्द्रीय नेतृत्वबाटै जिल्ला सभापतिमा कसैलाई लाइन दिइयो भने उनको प्रतिक्रिया के हुने छ ? महामन्त्री शाहले भने– म लाइनको राजनीतिमा विश्वास गर्दिन । लाइन अनुसार प्यानल बनाउने भन्ने तर्क गलत हो । एकचोटी पार्टी केन्द्रीय सभापतिसंग भेटेर उहाँको धारणा बुझ्नु पर्छ भन्ने मेरो कर्तव्य हो ।

उनले अहिलेसम्म कैलालीमा कसैको पनि प्यानल नै घोषणा भइसकेको अवस्था भने नभएको दाबी गरे । भने केही साताअघि प्रकाश बमजीले घोषणा गर्नुभएको थियो । उहाँको घोषणा अस्वाभाविक चाही होइन ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार