भुँवो खेलको पूर्वसन्ध्यामा मुढा बालियो

धनगढी / भुँवो पर्व अन्तरगतका आइतबार विहान धनगढीस्थित पुरानो एअरपोर्टको खुलामञ्चमा मुढा बालिएको छ ।
बजुरेली सेवा समाजद्धारा आयोजना हुने भुँवा पर्वको पूर्व सन्धामा मुढा बालिएको हो । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम र बझाङ्मा उल्लासपूर्वक मनाइने भुवा पर्व धनगढीमा दुई दिनसम्म मनाउने कार्यक्रम छ ।
भुवा नृत्य देखाउँदै पुरानो एअरपोर्टमा पुस १८ र १९ गते भुवा पर्व मनाइने बाजुरा सेवा समाजले बताएको छ । बाजुरा पुख्र्यौली घर भइ धनगढी बस्ने व्यक्तिहरु थुप्रै रहेकाले परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ भुवा नाच कार्यक्रमको आयोजना गर्न लागेको बाजुरा सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले बताए ।
हरेक वर्ष पुसको औंसीबाट यो पर्व मनाउन सुरु गर्ने गरिएको छ । द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि विजयी जुलुसको रुपमा भुवा पर्व नाच्ने गरेको बताइन्छ । तरवार र ढाल नचाउँदै विजयी उत्सवको रुपमा भुवा नाच नाचिने गरेको अध्यक्ष थापाले बताए ।
यसैबीच, भुवा पर्वको अवसर पारेर आइतबार सुदूरपश्चिम प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बाजुरा, बझाङ र अछाममा एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिम मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।




