१० श्रावण २०८१, बिहीबार

कैलाली काँग्रेसको चुनावी सरगर्मी बढ्यो





धनगढी / नेपाली काँग्रेस, कैलालीको जिल्ला अधिवेशन नजिकिएसंगै चुनावी सरगर्मीमा बृद्धि आएको छ । पटक पटक स्थगित भएको जिल्ला अधिवेशन आगामी २७ गते हुँदैछ ।

काँग्रेस केन्द्रिय कार्यालयले अधिवेशन नभएका १६ जिल्लामा आगामी २७ गतेको मिति तय गरेको छ ।

अधिवेशनको मिति तोकिएपछि जिल्ला सभापति सहित पदाधिकारी र सदस्य पदका आकांक्षीहरूले आआफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । आकांक्षीहरूले प्रायः सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन् ।

त्यस्तै आकांक्षीहरूले भेला लगायतका कार्यक्रम पनि आयोजना गरिरहेका छन ।

कैलालीमा संस्थापन तथा संस्थापन बाहेकको पक्षबीच धेरैजसो वडा तहदेखि नै प्रतिस्पर्धा हुदै आएको थियो । कैलाली काँग्रेस सभापतिका लागि अहिलेसम्म संस्थापन पक्षका नेताहरूले आआफ्नो दाबी प्रस्तुत आएका छन् ।

जिल्ला सभापतिका लागि संस्थापन पक्ष निकट जिल्ला उपसभापति प्रकाशबहादुर वम, पूर्व उपसभापति नारायणदत्त भट्ट, गणेश देउवा, भीम बडुवाल, खेमराज चौधरी लगायतले दाबी गरेका छन् ।

संस्थापन बाहेकको पक्षबाट अहिलेसम्म सभापतिमा को उम्मेदवार हुने भन्ने खुलेको छैन । संस्थापन बाहेकका एक नेताले भने– हामी छलफलमा छौं । हामी प्यानल सहित नै निर्वाचन लड्ने बढी सम्भावना छ ।

सभापतिका आकांक्षी वमले मंसिरको पहिलो साता धनगढीमा पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । सभापतिका अर्का आकांक्षी भट्टले तीनचार वर्षअघि देखि नै आफूलाई सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका थिए ।

कैलालीमा संस्थापन पक्षका दुई समुहबीच तीब्र प्रतिस्पर्धा रहेको देखिन्छ । भट्ट निकट एक नेताका अनुसार संस्थापन पक्ष नेतृत्वबाट उनी नै आधिकारिक उम्मेदवार हुने बढि सम्भावना रहेको छ ।

भट्टलाई संस्थापन पक्षले आधिकारिक उम्मेदवार घोषणा गरेमा अर्को समुहले कस्तो रणनीति अपनाउछ ? भन्ने अहिल्यै स्पष्ट भइसकेको छैन ।
सभापतिका आकांक्षी वमले अहिले वडा तथा पालिका र क्षेत्र स्तरीय भेला र भेटघाट कार्यक्रममा आफ्नो सहभागिता तीब्र बनाइरहेका छन् ।

कैलाली क्षेत्र नम्बर ४ बाट एक मतले मात्रै महाधिवेशन प्रतिनिधिमा विजयी वमले जिल्लाका धेरैजसो नेता र कार्यकर्ताको आफूलाई समर्थन रहेको दाबी गरे । उनले भने– मैले लामो समयदेखि पार्टीका विभिन्न पदमा रहेर काम गरेको छु । अहिले म उपसभापति रहेकोले सभापतिमा मेरा उम्मेदवारी स्वाभाविक हो ।

सभापतिका आकांक्षी बडुवालले जिल्ला युवा नेतृत्व ल्याउनु पर्ने अभियानमा आफू लागेको बताए । त्यस्तै, जिल्ला सचिवमा अहिलेका कार्यसमिति सदस्य नृपबहादुर सुनार, केशव मिश्र, अमृत बिसी लगायतले आआफ्नो दाबी प्रस्तुत गरेका छन् ।

जिल्ला अधिवेशन प्रचारप्रसार समिति संयोजक समेत रहेका सचिव पदका आकांक्षी सुनारले अधिवेशनको तयारी तीब्र बनाइएको बताए । उनले भने– अहिले हामी वडा तथा पालिका स्तरीय बैठक, भेलामा जुटेका छौं । यी बैठकमार्फत जिल्ला अधिवेशनको तयारी भइरहेको छ ।

जिल्ला अधिवेशनका यसअघि नै निवर्तमान जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा एक हजार पाँच सय एक सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।

शाह प्रदेशको महामन्त्रीमा निर्वाचित भइसकेका छन् । जिल्ला अधिवेशन गर्न मुल समितिको जिम्मेवारी समितिलाई दिने वा उपसभापति बमको संयोजकत्वमा समिति गठन गर्ने भन्नेबारे अहिलेसम्म टुंगो लगाइएको छैन ।

अधिवेशन प्रचारप्रसार समिति संयोजक सुनारले भने– तत्कालिन सभापति शाह प्रदेश महामन्त्रीमा निर्वाचित भइसक्नु भएको छ । अहिले जिल्लाको कार्यवाहक सभापतिमा बम हुनुहुन्छ । के गर्ने र कसरी गर्ने भन्नेबारे टुङ्गो लागेको छैन ।

एक सय २६ वडा रहेको कैलालीमा जिल्ला अधिवेशनका लागि २५ सय बढी प्रतिनिधिहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार