५ पुष २०८२, शनिबार

कैलाली अर्जुन हत्या प्रकरण : दश दिनपछि दाहसंस्कार




धनगढी / विभत्स ढंगले हत्या गरिएका कैलालीको जानकी गाउँपालिका– ९ का २५ वर्षीय अर्जुन दाशको १० दिनपछि सोमबार दाहसंस्कार गरिएको छ ।

मृतकका परिवार, आफन्तजन, स्थानीय र प्रहरी तथा जानकी गाउँपालिकाका जनप्रतिनिधिहरुबीच छ बुँदे सहमति भएपछि अर्जुनका परिवारजनले शवको दाहसंस्कार गरेका थिए ।

जानकी गाउँपालिकाको अमरावती सामुदायिक बनमा गत ३ गते अर्जुनको नग्न अवस्थामा रुखमा बाँधिएको र टाउको र शरीर अलग पारिएको अवस्थामा शव फेला परेको थियो ।

घटनामा संलग्न दोषिहरुलाई पक्राउ नगरुन्जेल घटनास्थलबाट शव उठाउन नदिने आफन्तजन तथा स्थानीयको अडानपछि प्रहरीले बल्ल दुई दिनपछि सम्झाईबुझाई शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगे पनि सात दिनसम्म शव अस्पतालमा नै रहेको थियो ।

टीकापुर इलाका प्रहरी कार्यालय प्रमुख (प्रही नायव उपरीक्षक) प्रकाश सापकोटाका अनुसार गाउँपालिकाले मृतक अर्जुनका छोरीलाई १२ कक्षासम्म पढाउने जिम्मेवारी बहन गर्ने, पीडित परिवारलाई खाद्यान्न सहयोग तथा क्रियाखर्च उपलब्ध गराउने, घटनामा संलग्न दोषिहरुलाई यथासक्य छिटो पक्राउ गर्ने, पीडित परिवारलाई सुरक्षाको प्रत्याभूति दिने र रोजगारीको प्रबन्ध गर्ने सहितका विषयमा सहमति भएपछि आफन्तजन शवको अन्तिम दाहसंस्कार गर्न मन्जुर भएका थिए ।

यसअघिसम्म पीडित परिवार, आफन्तजन तथा स्थानीयले घटनामा संलग्न दोषिहरु सबैलाई पक्राउ गरी कडा कानूनी कारबाही गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति र रोजगारी तथा छोरीको पढाईको व्यवस्था, सुरक्षाको प्रत्याभूति लगायतका माग राख्दै आन्दोलन जारी राखेका थिए ।

उनीहरुले शव बुझ्न नमानेका कारण दुई दिन बनमा र सात दिनसम्म अस्पतालमा रहेको थियो । आफन्तजन तथा स्थानीयले ललित परियारको संयोजकत्वमा संघर्ष समिति नै बनाएर गाउँपालिकामा तालाबन्दी र धर्ना, लम्कीमा राजमार्गमा चक्काजाम र बजार बन्द लगायतका आन्दोलनका कार्यक्रम जारी राखेका थिए ।

उनीहरुको आन्दोलनमा नेपाली काँग्रेस, कैलाली क्षेत्र नम्बर १ र २ क्षेत्रीय समितिले पनि ऐक्यवद्धता जनाएको थियो ।

प्रहरीले घटनाको दुई दिनपछि घटनामा संलग्न सबै अभियुक्तहरुको पहिचान भइसकेको र उनीहरु रहेको स्थान पत्ता लगाउने काम भइरहेको बताए पनि अहिलेसम्म एक जना मात्रै पक्राउ गरिएको छ । त्यस्तै, अहिलेसम्म घटनाको यथार्थ कारण पनि खुल्न सकेको छैन ।

प्रहरी नायव उपरीक्षक सापकोटाले अनुसन्धान कार्य प्रभावित हुने भएकोले पक्राउ परेको व्यक्तिको पहिचान गोप्य राखिएको बताए ।उनले भने– प्रहरीले घटनामा संलग्न सबै दोषिहरुको पहिचान गरिसकेको छ । हामी उनीहरु रहेको स्थान पत्ता लगाउने काम गरिरहेका छौं ।

उनले घटनाको ठोस कारण अहिल्यै एकिन गर्न नसकिए पनि लागू औषधका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताए ।
घटनाको दोस्रो दिन मनोज (भण्डारी) ले अर्को व्यक्तिलाई फोनमा आफूहरुले अर्जुनको हत्या गरेको” आसयको फोन टेप सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार