१० श्रावण २०८१, बिहीबार

सारअल्फा चल्यो सररर



धनगढी / कैलालीको धनगढीस्थित एक्सिस विद्याश्राम कक्षा १० का विद्यार्थी हुन्, ऋषिकेश थापा । उनले तीन वर्ष अघिदेखि विद्युतीय चार पाङ्ग्रे गाडी बनाउने सपना देखे । उनको सपना अहिले पुरा भएको छ ।

ऋषिकेशले आइतबार धनगढीका विभिन्न सडकमा आफूले निर्माण गरेको गाडी प्रदर्शन गरे । उनले आफ्नो उत्पादनलाई सारअल्फा नामाकरण गरेका छन् । उनका सहपाठीहरू सक्षम रेग्मी, रोहित ऐर र आदित्य जोशीको साथ पाएर उनले सो गाडी निर्माण गर्न सम्भव भएको बताए । मेरो तीन वर्षदेखि नै चार पांग्रे गाडी बनाउने सोच थियो ।

म र मेरा साथीहरू यसबारे अध्ययनमा लाग्यौं ऋषिकेशले भने– कोभिड–१९ महामारीको दोस्रो भेरियण्टको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारले जारी गरेको लकडाउनको सदुपयोग गरेर हामी यो बनाउन सफल भयौं ।

ऋषिकेश र उनका साथीहरूले कवाडमा रहेका फलाम, सिल्भर, गाडीका पार्टपूर्जा लगायत संकलन गरे । ती सबै सामान डिबी अटोपार्ट्समा राखे । सोही अटोपार्टसको सहयोगमा उनीहरूले आफनो सीप र दक्षता अनुसार सो गाडी बनाएको ऋषिकेशले बताए ।

शुरुमै हामीलाई आर्थिक समस्या थियो । घरपरिवार, साथीभाई, छरछिमेकी सबैसंग आर्थिक सहयोग माग्यौं । घरपरिवारबाट राम्रो साथ र सहयोग पायौं उनले भने– अहिले एसईई नजिकिएको छ । यस्तो बेला सबैका अभिभावकहरू पढाईमा ध्यान दे भन्छन् । कहाँ अरु कुरामा ध्यान दिन्छस भन्छन् होला तर, घरपरिवारले मलाई गर्न सक्छ भनेर थप हौसला दिनुभयो । कुनै रोकटोक गरेका छैनन ।

उनले गाडी बनाए पनि पूर्ण भने हुन नसकेको बताए । सो गाडीमा १२ भोल्टको पाँच वटा व्याट्री राखिएको छ । गाडीको मुख्य भनेको मोटर र ब्याट्री हो उनले भने– अहिले हामीले उधारोमा अरुसंग पाँच ब्याट्री ल्याएर बनाएका छौं । छिट्टै हामी आफनै लिक्विड व्याट्री बनाउने तयारीमा छौं । त्यसपछि हामीले आफैले गाडी बनाएको भनेर घोषणा गर्छौ ।

करिब चार महिना लगाएर उनीहरूले तयार गरेको सो गाडीमा अहिलेसम्म डेढ लाख रुपैयाँ खर्च भइसकेको छ । रातभरी चार्ज गरेमा दिनभरी ५० देखि ६० किलोमिटरसम्म गुडाउन सकिनेछ । बिना चावी स्विच बटनबाट खोल्ने, हर्न दिने, अगाडी पछाडि गर्न मिल्ने गरि बनाइएको छ । सो गाडीले आठ क्विन्टल भारसहित पाँच जना व्यक्ति बस्न मिल्ने छ । गाडीको ड्यासबोर्डमा मोबाईल राखिएको छ । सो मोबाइलमा गाडीको गति देखिन्छ ।

अहिले हामीले गाडी बनाउन सक्छौं भनेर यो नमुनाका रुपमा बनाएका हौं । यसलाई पूर्णता दिन अझै पनि हामीसंग आर्थिक अभाव रहेको छ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार