५ जेष्ठ २०८१, शनिबार

धनगढी–पोखरा हवाइ उडान शुरु हुँदै



धनगढी / कैलालीको धनगढीबाट पर्यटकीय शहर पोखरासम्म हवाइ उडान सेवा सञ्चालन गर्ने तयारी भएको छ ।

बुद्ध एयरले धनगढी–पोखरा हवाइ उडानको तयारी गरेको जनाएको छ । बुद्ध एयरको आधिकारिक फेसबुक पेजमा भनिएको छ– राम्रो समाचार, नयाँ रुटको तयारी र एउटा इमेज पोष्ट गरिएको छ । इमेज पोष्टमा उल्लेख छ छिट्टै धनगढी–पोखरा र पोखरा–जनकपुर उडान सेवा, सातामा तीन दिन ।

धनगढी–पोखरा उडान भर्ने तयारी भइरहेको छ बुद्ध एयर धनगढी कार्यालयका इन्चार्ज बुद्धराम चौधरीले भने– आगामी जनवरी भित्रै धनगढी–पोखरा हवाइ उडान गर्नेगरी हामीले तयारी गरिरहेका छौं ।

सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायीहरूले धनगढी–पोखरा हवाई उडान सेवा सञ्चालनका लागि लामो समयदेखि आग्रह गर्दै आएका छन्् ।
नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) का सचिव पदमविक्रम सिंहले लामो प्रयासपछि बुद्ध एयरले पोखरा–धनगढी उडान सेवा शुरु गर्न लागेको सुनेर खुशी लागेको बताए ।

उनले भने– पर्यटनका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशलाई भर्जिन ल्याण्ड मानिन्छ । अहिलेसम्म नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरू काठमाडौं, पोखरासम्म मात्र घुमेर फर्किने गरेका छन् । धनगढी–पोखरा हवाइ उडान सेवा सञ्चालन भएमा त्यहाँ आउने विदेशी पर्यटकहरूलाई यो प्रदेशमा घुम्नका लागि आकर्षित गर्न सकिन्छ ।

सुदूरपश्चिमका मानिसलाई पोखरा घुमाउन पोखराका होटल व्यवसायीहरूले विभिन्न चरणमा अन्तर प्रदेश भ्रमण कार्यक्रम गर्दै आइरहेका छन् । ‘त्यहा“का मानिसहरूले रारा, खप्तड वा अपिसैपाल आदि टाउमा घुम्न जाने रहर व्यक्त गरे पनि यातायातको कठिनाईका कारण जाने आँट गर्दैनन उनले भने– हवाइ उडान सेवाको सुविधा भएपछि पोखराका मानिसलाई सुदूरपश्चिम र यहाँका मानिसलाई पोखराका पर्यटकीय गन्तव्यमा पु¥याउन सहज हुनेछ ।

धनगढीबाट अहिले धनगढी–काठमाडौं दैनिक हवाइ सेवा सञ्चालनमा छ भने प्रदेशको अछाम, डोटी, बाजुरा र बझाङमा उडान सेवा हुँदै आएको छ । धनगढी आउने पर्यटकले खप्तड राष्ट्रिय निकुञ्ज, बाजुराको बडिमालिका, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका प्रदेशका विभिन्न पर्यटकिय स्थलको भ्रमणको अवसर पाउने पर्यटन व्यवसायीहरूको विश्वास छ ।

उनीहरू धनगढीबाट बझाङ भ्रमणमा जाने पर्यटकहरूलाई बझाङको सैपाल हिमालको स्थल यात्रा (ट्रेकिङ) को अवसर पनि प्राप्त हुने बताउछन् ।

सडक तथा पुर्वाधार विकास नहुँदा यहाँ पर्यटकलाई आकर्षण गर्ने पर्यटकिय गन्तव्यहरू ओझेलमा परिरहेका छन् । धनगढीदेखि पहाडका चार जिल्लामा विमान उडान भइरहेकाले धनगढीबाट ती पर्यटन क्षेत्रमा पर्यटकलाई पुग्न सहज हुने पर्यटन व्यवसायीहरूको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार