१० श्रावण २०८१, बिहीबार

नेपाली काँग्रेसको १४ औं महाधिवेशन : सुदूरपश्चिम प्रदेशबाट सभापति सहित १४ जना केन्द्रीय समितिमा




चार क्लष्टरको मतगणना जारी


धनगढी / नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बुधबार साँझसम्म विभिन्न पदका लागि भएको मतगणना परिणामअनुसार सुदूरपश्चिम प्रदेशबाट सभापति सहित केन्द्रीय समितिमा १४ जनाको प्रतिनिधित्व भएको छ ।

सुदूरपश्चिम प्रदेशबाट काँग्रेस केन्द्रीय समितिमा सबैभन्दा धेरै प्रतिनिधित्व भएको यो पहिलो पटक हो । त्यस्तै, सभापतिबाहेक पदाधिकारीमा पनि सुदूरपश्चिमबाट पहिलो चोटी प्रतिनिधित्व भएको छ ।

बुधबार जारी मतगणनामा दलित खुला र खस आर्य कोटामा पनि सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार रहेका छन् । हालसम्म भएको मतगणनाबाट सभापति र एक पदाधिकारी निर्वाचित भइसकेका छन् ।

त्यस्तै, खुला केन्द्रीय सदस्यमा चार जना, खुला महिला केन्द्रीय सदस्य दुई जना, प्रदेश भूगोलबाट तीन जना, थारु महिलाबाट एक जना, थारु खुलाबाट एक जना र पिछडिएको क्षेत्रबाट एक जना निर्वाचित भइसकेका छन् ।

अहिलेसम्मको परिणाम अनुसार केन्द्रीय सदस्यमा विभिन्न क्लष्टरबाट गरी कैलालीबाट सबैभन्दा बढी छ जना निर्वाचित भएका छन् । १४ औं महाधिवेशनबाट केन्द्रीय पदाधिकारी र सदस्यमा अहिलेसम्म निर्वाचित मध्ये आठ जना नयाँ अनुहार पहिलो पटक केन्द्रीय समितिमा पुग्न सफल भएका छन् । सभापति सहित छ जना यसअघि पनि केन्द्रीय समितिमा रहेका थिए ।

१४ औं महाधिवेशनमा सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशको डडेल्धुराका देउवा १३ औं महाधिवेशनमा पनि सभापति निर्वाचित भएका थिए ।

पाँच पटक प्रधानमन्त्री समेत भइसकेका देउवा डडेल्धुराबाट २०४८ सालदेखि प्रत्येक संसदीय निर्वाचनमा सांसद पदमा निर्वाचित हुँदै आएका छन् ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिम प्रदेशबाट सभापतिपछि पहिलो पटक पदाधिकारीमा प्रतिनिधित्व भएको छ । बाजुराका बद्रिप्रसाद पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

उनी सहमहामन्त्री तर्फ पिछडिएको क्षेत्रबाट निर्वाचित भएका हुन् । पाण्डे यसअघि केन्दीय सदस्य तथा राष्ट्रिय सभा सदस्य रहेका थिए । उनले सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही (हुम्ला) लाई पराजित गरे ।

सुदूरपश्चिम प्रदेशबाट सभापति र विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यका लागि ४८ जनाले प्रतिस्पर्धा गरेका थिए । खुला केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट १३ जनाले उम्मेदवारी दिएकोमा चार जना निर्वाचित भएका छन् ।

खुला केन्द्रीय सदस्यमा एनपी सावद (कञ्चनपुर), रमेश लेखक (कञ्चनपुर), दिलेन्द्रप्रसाद वडू (दार्चुला) र नैनसिंह महर (डडेल्धुरा) विजयी भए । केन्द्रीय सदस्यत्रय सावद, लेखक र वडू यसअघि पनि पटकपटक केन्द्रीय सदस्य भइसकेका हुन् । पार्टीका प्रवक्ता समेत रहिसकेका वडू हाल केन्द्रीय मन्त्री छन् । भने सावद र लेखक पटकपटक मन्त्री रहिसकेका छन् ।

नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष महर भने पहिलो पटकको प्रयासमा नै केन्द्रीय सदस्य निर्वाचित भएका छन् । विद्यार्थी राजनीतिबाट काँग्रेसको राजनीतिमा आएका महर कुनै वेला पत्रकारिता पेसामा पनि आवद्ध थिए ।

त्यस्तै, खुला महिला केन्द्रीय सदस्यमा डाक्टर आरजू राणा देउवा (कैलाली) र ईश्वरी न्यौपाने (कैलाली) निर्वाचित भएका छन् । डाक्टर आरजू प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा पत्नी हुन् । उनी संविधान सभा सदस्य पनि हुन् । न्यौपाने यसअघि पनि केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य थिइन् ।

प्रदेश भूगोलबाट महिलातर्फ कैलालीका सुशीला मिश्र भट्ट र कैलालीकै रणबहादुर रावल तथा कञ्चनपुरका यज्ञराज जोशी निर्वाचित भएका छन् । रावल सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता हुन् भने श्रीमति भट्ट धनगढी उपमहानगरपालिकाका उपप्रमुख हुन् । जोशी महेन्द्रनगर (हाल भीमदत्त) नगरपालिकाका पूर्व मेयर हुन् ।

प्रदेश भूगोलबाट महिला केन्द्रीय सदस्यमा तीन जना र खुलातर्फ छ जना उम्मेदवार रहेका थिए । त्यस्तै, महिला थारुतर्फ कैलालीका जीवन राना निर्वाचित भएकी छिन् । भने थारु खुला केन्द्रीय सदस्यमा कैलालीका रामजनम चौधरी निर्वाचित भएका छन् । काँग्रेसबाट पटकपटक मन्त्री तथा सांसद भइसकेका रामजनम बीचको केही अवधि लोकतान्त्रिक फोरमको उपल्लो तहको नेतृत्वमा रहेका थिए ।

पिछडिएको क्षेत्रबाट बझाङका अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भए । पटक पटक सांसद, एक पटक राज्यमन्त्री तथा एक पटक राजदूत रहीसकेका सिंह पहिलो पटक केन्द्रीय समितिमा पुगेका हुन् ।

काँग्रेस केन्द्रीय समितिका लागि गत २७ गते भएको मतदानको मतगणना जारी रहेको १० दिन पुगिसकेको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार दलित, आदिवासी जनजाति सहित ३७ सिटका लागि मतगणना भइरहेको छ । निर्वाचन समितिले बु्धबार अबेर रातीसम्म मतगणना कार्य पुरा हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार