१० श्रावण २०८१, बिहीबार

प्रथम प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट शुरु



प्रदेश १ र लुम्बिनी प्रदेशको विजयी शुरुवात


धनगढी / अलिशा खडिया र संगीता राईको धारिलो र घातक बलिङ र रुविना क्षेत्री र अप्सरी बेगमको आकर्षक ब्याटिङसंगै शनिबारदेखि धनगढीमा शुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले विजयी शुरुवात गरेको छ ।

शनिबार नै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि सहज जीत हासिल गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा ठूलो संख्यामा रहेका दर्शकमाझ प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १०६ रनले पराजित गर्यो ।

प्रदेश नम्बर १ ले दिएको १६७ रनको चुनौति सामना गर्ने क्रममा कर्णाली प्रदेश जम्मा छ रनमा अलआउट भयो । राष्ट्रिय स्तरको टी–२० क्रिकेट प्रतियोगितामा कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै सबैभन्दा कम रनस्कोर हो ।

कर्णालीको पारीमा सबैभन्दा बढी रन बनाएकी आयुशा टन्डनले २८ बलको सामना गरेर तीन रन बनाइन् भने अंशु शाक्य र लक्ष्मी रिमालले एक÷एक रन बनाए । कर्णालीका आठ खेलाडीले खाता नै खोल्न सकेनन् ।

कर्णालीको पारी तहसनहस गर्ने प्रमुख भूमिका निर्वाह गरेकी प्रदेश १ की बलर आलिशा खडियाले चार ओभर बलिङ गर्दै तीन मेडन ओभर राखेर जरुम्मा १ रन खर्चदै पाँच विकेट लिइन् ।

त्यस्तै, संगीता राईले ३.४ ओभरमा एक मेडन ओभर सहित दुई रन खर्चेर दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा दुई विकेट क्षतीमा १६६ रन बनायो । प्रदेश १ ले पहिलो ओभरमै पहिलो विकेट गुमाए पनि रुवीना क्षेत्री र अप्सरी बेगमले दोस्रो विकेटका लागि १६५ रनको साझेदारी गरेपछि टीमले बिशाल स्कोर बनाउन सफल भयो ।

रुवीनाले ६४ बलमा १० चौका सहित ७६ रनको बिस्फोटक पारी खेलिन् भने अप्सरीले ६२ बलमा पाँच चौका हिर्काउँदै ६१ रन बनाइन् ।
निकै फितलो बलिङ गरेका कर्णालीका बलरहरुले २९ रन अतिरिक्त दिएका थिए ।

खेलको वुमन अफ द म्याच प्रदेश १ की बलर आलिशा बनिन् ।

शनिबारको अर्को खेलमा लुम्बिनीले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्यो । टस जीतेर पहिले ब्याटिङ गर्दै बागमतिले दिएको ७६ रनको चुनौति लुम्बिनीले १२.५ ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो ।

लुम्बिनीलाई सहज जीत दिलाउने क्रममा सरस्वती जीएमले पाँच चौका सहित अविजित २९ रन बनाइन् भने नितु भण्डारीले १४ रनको योगदान दिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्न ओर्लिएको बागमतिले २० ओभरमा सात विकेट गुमाएर ७५ रन मात्रै बनाउन सक्यो । बागमतीको पारीमा हेलिशा गुरुङले ५३ बलको सामना गरेर दुई चौका सहित २८ रन बनाइन् भने खुसी डंगोलले नौ र कञ्चन श्रेष्ठले सात रन बनाइन् ।

बलिङतर्फ लुम्बिनीका मधु डीसीले तीन, सुस्मिता भूषालले दुई र नरि थापा तथा स्वस्तिका बजगाईंले एक÷एक विकेट लिए । खेलको वुमन अफ द म्याच लुम्बिनीका मधु डीसी बनिन् ।

यसअघि प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले उद्घाटन गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाल क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको सहआयोजक क्रिकेट संघ, सुदूरपश्चिम प्रदेश रहेको छ ।

आयोजक प्रादेशिक किक्रेट संघका अध्यक्ष हरि रेग्मीका अनुसार प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

त्यस्तै, वुमन अफ द सिरिजले २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सवुमनले १५ हजार तथा वुमन अफ द म्याचले दुई हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिता आगामी ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश र एपीएफको गरी आठ टिम सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार