१० श्रावण २०८१, बिहीबार

माओवादीको प्रदेश सम्मेलन : पदाधिकारी चयन नगरी प्रदेश कमिटी गठन





धनगढी / नेकपा (माओवादी केन्द्र) को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन पदाधिकारी चयन नै नगरी कमिटी घोषणा गरेर समापन भएको छ ।
चार दिनदेखि धनगढीमा सञ्चालन भएको प्रथम प्रदेश सम्मेलनले २११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

सम्मेलनले कमिटीको बैठकबाट पदाधिकारीको टुंगो लगाउने गरी सो कमिटी गठन गरेको हो । माओवादी केन्द्रका नेता शरतसिंह भण्डारीले पार्टीको विधानमै सम्मेलनले सदस्य निर्वाचित गर्ने र कमिटीको बैठकले कार्यविभाजन गर्ने व्यवस्था गरेको हुनाले सम्मेलनबाट सदस्य मात्रै छनौट गरिएको बताए ।

विधान अनुसार प्रदेश कमिटी २२३ सदस्यीय रहने व्यवस्था छ । तर, प्रदेश प्रतिनिधि चयन गर्दा पालिका सम्मेलनहरूमा द्विविधा भएको हुनाले क्लस्टर मिल्न नसकेकोले नमिलेको स्थानीय तहबाट सदस्य थप्न सक्ने गरी १२ जना सदस्यको स्थान रिक्त राखिएको नेता भण्डारीले बताए ।

मंसिर २५ गते शुरु भएको सम्मेलन प्रतिनिधि छनौट, प्रदेश कमिटीको प्यालन मिलान लगायतका झमेलाका कारण तोकिएको भन्दा दुई दिनसम्म सम्मेलन लम्बिएको थियो ।

प्रदेश कमिटीको नेतृत्वमा दावी गर्ने नेताको संख्या पनि धेरै भएको हुनाले माओवादी केन्द्रले प्रदेश कमिटीका पदाधिकारी टुंग्याउन सकेको छैन ।

प्रदेश कमिटीको नेतृत्वको लागि केन्द्रीय सदस्यहरू विरमान चौधरी पर्वत, हरि चौधरी उत्सव, हरि ज्ञवाली अखण्ड, नेपबहादुर चौधरी सिंहराज, निर्वतमान अध्यक्ष शरतसिंह भण्डारी, नेता नरेन्द्र कुँवर र मानबहादुर धामी सन्तोषले दावी गरेका छन् ।

विधान अनुसार प्रदेश अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिनुपर्ने भएकाले केही नेताहरू पछि हटेका छन् ।

प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष तीन जना, सचिव, सहसचिव तीन जना र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी रहने व्यवस्था विधानमा छ ।

नवनिर्वाचित प्रदेश कमिटीको बुधबार धनगढीमा बसेको बैठकले जिम्मेवारी बाँडफाँडको विषयमा अर्को बैठकमा छलफल गर्ने प्रस्ताव पारित गरेको छ ।

जेष्ठ सदस्य हरिनादेवी कुँवरको अध्यक्षतामा बसेको बैठकले सम्मेलनमा सम्पन्न गर्न सहयोग पुर्याउने अतिथि, सहयोगी, प्रतिनिधि लगायतलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार