१० श्रावण २०८१, बिहीबार

प्रहरी हिरासतमा मृत्यु : प्रहरीको दाबी– आत्महत्या, पीडित परिवार भन्छन्– प्रहरी लापरबाही



धनगढी / २०७७ साल भदौ २६ गते जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा धनगढीका १९ वर्षीय युवक रोशन बिकको मृत्यु भयो ।

त्यसको केही दिनअघि चोरी मुद्दामा पक्राउ परेका रोशन प्रहरीको लापरबाहीका कारण थुनामै ज्यान गएको पीडित परिवारले आरोप लगाउदै आएका छन् ।

प्रहरीले रोशनले आत्महत्या गरेको दाबी गर्दै आए पनि उनका परिवारले भने सो घटनाको छानबिन गर्न माग गरेको थियो । घटनाको छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले टोली बनायो । छानबिन टोलीले समेत रोशनले आत्महत्या नै गरेको निष्कर्ष निकालेको छ ।

तर, प्रहरीको छानबिनमाथि विश्वस्त नभएको मृतकका बुवा टेकबहादुर कामीले बताए । ‘प्रहरी हिरासतभित्र धेरै मान्छे हुन्छन् । आत्महत्या कसरी हुन सक्छ ? उनले भने, यसमा प्रहरीको गम्भीर लापरबाही भएको देखिन्छ । हामीलाई चित्तबुझ्ने छानबिन पनि भएको छैन ।

२०७७ साउन २७ गते धनगढी उपमहानगरपालिकाको फूलबारीमा रहेको सीमा प्रहरी चौकीमा एकजना मृत फेला परे । फूलबारीकै अमरबहादुर चन्द प्रहरीको नियन्त्रणभित्रै मृत फेला परेपछि पीडित परिवारले प्रहरीका विरुद्ध आन्दोलन समेत गरेको थियो ।

इलाका प्रहरी कार्यालय टीकापुरमा पनि गत असोज २५ गते एकजना थुनुवाको ज्यान गएको थियो । भैंसी चोरेको आरोपमा पक्राउ परेका सुर्खेतका ३५ वर्षीय धनबहादुर रानाको प्रहरी हिरासतभित्रै ज्यान गएको थियो । यी घटनाहरूमा प्रहरीको गम्भीर लापरबाही भएको आरोप पीडित परिवारको छ । प्रहरीले भने सबै घटनामा आत्महत्या भएको निष्कर्ष निकालेको छ ।

प्रहरीले हिरासत भित्रै ज्यान गुमाएका घटनाको छानबिन हुने गरेको दाबी गर्दै आएको छ । तर पीडित परिवार भने प्रहरीको निष्कर्षमाथि विश्वास गर्ने पक्षमा छैनन् । प्रहरी अनुसन्धानले कैलालीमा भएका प्रायः सबै घटनामा आत्महत्या भएको देखाएको छ । अपराध पुष्टि भएपछि समाजमा बस्न नसकिने मानसिकताका कारण केहीले आत्महत्याको बाटो रोज्ने गरेको तर्क प्रहरीको रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) वेदप्रकाश जोशीले सबै घटनामा आत्माहत्या भएको दाबी गरे । अपराध पुष्टि भएपछि समाजमा बस्न गाह्रो हुन्छ भन्ने मानसिकताका कारण पनि केहीले आत्महत्याको बाटो रोजेका हुनसक्छन् उनले भने, पछिल्लो समयमा हामीले हिरासत कक्षभित्र पनि सचेत गराउने गर्छौ ।

घटनाको छानबिन भएपछि केही प्रहरी कर्मचारीलाई भने कारबाही भएको छ । घटना भएको समयमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई विभागिय कारबाही भएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार