केन्द्रिय सदस्य (प्रदेश) पदमा डाक्टर रावलको उम्मेदवारी घोषणा

धनगढी । नेपाली काँग्रेसका नेता डाक्टर रणबहादुर रावलले केन्द्रीय सदस्य (प्रदेश) पदमा उम्मेदवार दिने घोषणा गरेका छन् ।
मंसिर २४ गतेदेखि हुन लागेको काँग्रेसको १४ औ महाधिवेशनमा उनले सो पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको परामर्शमा देउवा समुहबाट आफु केन्द्रिय सदस्य (प्रदेश) पदमा उम्मेदवारी दिने काँग्रेस नेता रावलले बताए । प्रमुख प्रतिपक्ष दल समेत रहेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका काँग्रेस नेता राउलले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषण गरेसंगै प्रचार–प्रसार समेत थालेको बताए । नेपाली काँग्रेसलाई युवाको रोजाईको पार्टी बनाउन र गुटबन्दी अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको डाक्टर रावलको भनाई छ ।
‘राणाशासनको अत्याचारलाई विर्साउने गरि हामीले पञ्चायती काल भोग्यौ । राजा ज्ञानेन्द्रको शाही काल भोग्यौ र के।पी। ओलीको शासन सञ्चालन गर्ने अशिष्ठ शैली पनि भोग्यौ । दुई तिहाईको दम्भ बोकेर उनले नेपाली कांग्रेस माथि प्रहार गर्ने गरेको वैचारिक दरिद्रतालाई पनि नजिकैबाट अनुभव गर्न पायौं’ उनले भने ‘यस्तै यस्तै राप र तापबाट खारिएको पार्टिनै नेपाली कांग्रेस हो । त्यसैले यसलाई जीवन्त गतिशील र पारदर्शि बनाउँदै कार्यकर्तामुखि पनि बनाउनु छ ।’
उनले पार्टीभित्रै जब–जब मतभेद र मनमुटाव उत्पन्न हुन्छ तब तब निर्वाचनमा बहुमत गुमाउने गरेको बताए । ‘जब–जब एक ढिक्का हुन्छौं तब बहुमत ल्याउने गरेका छौं । गएको निर्वाचनमा पनि केहि प्रतिशत हाम्रा कारणले त केहि प्रतिशत वामपन्थीहरु एक ढिक्का भएका कारणले हामी दोस्रो पार्टिका रुपमा झर्न पुगेका थियौं’ उनले भने ‘कम्युनिष्टहरु फुट्दा यतिबेला हामी सत्तामा पुगेता पनि जनादेशका कारण हाम्रो स्थान प्रतिपक्ष नै हो । हाम्रा अगाडी स्थानिय देखि संघिय निर्वाचनले पाइला टेकिसकेको अवस्था छ । त्यसमा हामीले विजय हासिल गर्नु छ र पुनः आफनै बहुमतको सरकार बनाउनु छ । त्यसका लागी पनि कांग्रेस एक ढिक्का हुनु जरुरी छ ।’
उनले महाधिवेशनबाट संस्कार विचार आदर्श र अनुभवयुक्त कांग्रेसलाई शक्तिशाली पार्टिका रुपमा उभ्याउन उम्मेदवारी दिएको बताए । ‘नेतृत्व राम्रो भयो भने हामी अवस्य पनि सफल हुनेछौं’ उनले भने – ‘त्यसैले यो अधिवेशनबाट हामीले हाम्रो हैन राम्रो नेतृत्व चयन गरौं । त्यो राम्रो नेतृत्व शेरबहादुर देउवाबाटै संभव छ र उहाँकै नेतृत्वबाट हामिले निर्वाचनमा सफलता प्राप्त गर्न सक्ने छौं ।’
उनले महाधिवेशनमा सुदुरपश्चिम प्रदेश (भूगोल) तर्फबाट केन्द्रिय सदस्यको पदमा उम्मेद्वारी दिने बताए । उनले भने –‘तपाइहरुको अमुल्य मतका लागी म हार्दिक अपिल गर्दछु ।’
को हुन् डाक्टर रावल ?
कैलालीको टिकापुरमा जन्मेका डाक्टर रावलले प्रकृति स्रोत व्यवस्थापनमा बिद्यावारीधी गरेका छन् । उनले बिक्रम संम्वत २०३२ साल देखि नेपाली काँग्रेसको भतृ संगठन नेपाल बिद्यार्थी संघको एकाई सचिवबाट राजनितिक यात्रा सुरु गरेका थिए । २०३६ सालको जनमत संग्रहका बेला नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले डाक्टर रावललाई बहुदलिय ब्यबस्थाको पक्षमा जनमत संकलन गर्न कैलाली घटाएको थियो ।
मिलनसार र बिकास प्रेमीका रुपमा लोकप्रिय व्यक्तित्व बनाउन सफल डाक्टर रावलले २०६३ सालदेखि २०७४ सम्म राष्ट्रिय विकास परिषद्का सदस्य रहेर काम गरिसकेका छन् । डाक्टर रावलको नेतृत्वदायी भूमिका राम्रो देखेर नेपाली काँग्रेसले उनलाई पाटी फुटपछि भएको एकिकरणको बिवाद मिलाउन रोल्पा जिल्लामा खटाएको थियो र जुन बिवाद उनले सहजै मिलाउन सफल समेत भए ।
२०६४ सालको निर्वाचनमा समानुपातिक संसदका उम्मेदवार रहेका डाक्टर रावल २०७० सालको संविधान सभाको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्यका उम्मेदवार रहेका थिए । २०६२–०६३को जन आन्दोलनमा डाक्टर रावलले काठमाडौँमा रहेर बिभिन्न क्षेत्रको नेतृत्व गरेका थिए । सोही आन्दोलनका क्रममा डाक्टर रावलले जेल जीवन समेत बिताएका थिए ।
नेता रावल सुदूरपश्चिम प्रदेश संसदयीय दलका नेता समेत रहेका छन ।




