१० श्रावण २०८१, बिहीबार

काँग्रेस प्रदेश सभापतिसहित पदाधिकारी र सदस्यहरुको पदस्थापन




धनगढी / नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभापति विरबहादुर बलायरसहित पदाधिकारी तथा सदस्यहरुको सोमबार धनगढीमा पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम भएको छ ।

सोमबार काँग्रेस कैलालीको पार्टी कार्यालयमा एक समारोहबीच प्रदेश सभापति बलायर सहित पदाधिकारी र सदस्यहरुको पदस्थापन र सपथ ग्रहण गरिएको हो ।

शुक्रबारदेखि भएको प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश पार्टी सभापतिमा बलायरको प्यानल विजयी भएको थियो । कार्यसमितिका पदाधिकारी र बहुमत सदस्य बलायर प्यानलबाट निवाचित भएका छन् ।

निर्वाचनमा कांग्रेसको संस्थापन (देउवा) तथा संस्थापन बाहेकको पक्ष दुई प्यानल बनाएर उत्रिएको थियो । सो अवसरमा प्रदेश पार्टी सभापति बलायरले प्रदेशमा काँग्रेसलाई बलियो बनाउन पार्टीका कार्यकर्ता सबै एक ढिक्का हुनुपर्ने बताए । पार्टीभित्रको निर्वाचनलाई लिएर कसैले पनि रुष्टता व्यक्त नगरौं उनले भने– अब आउनै लागेको स्थानीय तहमा पार्टीलाई विजयी गराउन सबै एकजुट बनौ ।

उनले प्रदेशको कार्यालय धनगढीमै राखिने बताए । प्रदेशको कार्यालयका लागि भवन निर्माणाधिन अवस्थामा रहेको छ । छिट्टै सम्पन्न हुँदै छ उनले भने– अब पार्टीको बैठक तथा कार्यालय धनगढीमै रहने छ ।

निर्वाचनमा सभापति बलायरले ६८८ मत प्राप्त गरेका थिए । उनका प्रतिपस्र्धी संस्थापन बाहेक टिमका नारायणदत्त मिश्रले २८० मत प्राप्त गरेका थिए । सुदूरपश्चिम प्रदेश अधिवेशनमा एक हजार २६ प्रदेश अधिवेशन प्रतिनिधि रहेकोमा शनिबार भएको निर्वाचनमा १००३ मत खसेको थियो ।

आइतबार मध्यान्ह घोषित मतगणनाको अन्तिम नतिजा अनुसार उपसभापतिमा जनकराज चौधरी (६१०) र लोकराज अवस्थी (५२३) सहित विजयी भएका छन् ।

संस्थापन बाहेकका पक्षका उपसभापतिका उम्मेदवार गोपालसिंह गुरुङले २८१ र मनबहादुर रावलले २६३ मत प्राप्त गरे । उपसभापति पदका अर्का उम्मेदवार हिमबहादुर रावलले १२१ मत प्राप्त गरे ।

त्यस्तै, महामन्त्रीमा नरनारायण शाह (६४८ मत) र मेघराज खड्का (६३५ मत) सहित विजयी भए । महामन्त्री पदका संस्थापन बाहेकका पक्षका उम्मेदवार रामबहादुर शाहीले ३०३ र प्रताप गुर्धामीले २३३ मत प्राप्त गरे ।

सहमहामन्त्रीमा चिन्तामणी भट्ट (५३३ मत) र गोपालदत्त भट्ट (५२९ मत) सहित विजयी भए । भने मिश्र टिमका पदमराज पन्तले २५४ र नरेन्द्रप्रसाद भट्टले २१२ मत प्राप्त गरे ।

सहमहामन्त्री पदका अर्का उम्मेदवार लक्ष्मणबहादुर शाहीले १६४ मत प्राप्त गरे भने हर्कबहादुर स्वारले ६८ मत प्राप्त गरे । त्यस्तै, सहमहान्त्री महिलातर्फ अम्बिका चलाउने ६८६ मत सहित विजयी भइन । उनका प्रतिस्पर्धी मिश्र टिमका खिना भण्डारी कुँवरले २२३ मत प्राप्त गरिन् ।

५१ प्रदेश सदस्यमध्ये कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका थिए । मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका हुन् । बाँकी ४७ जना सदस्य चयनका लागि भएको निर्वाचनमा १६० जनाले उम्मेदवारी दिएका थिए ।

प्रदेश निर्वाचन क्षेत्रको खुला सदस्यतर्फ उत्तमबहादुर कठायत, टेकराज जोशी, गणेश बिष्ट, पुष्करबहादुर सिंह, ज्ञानेन्द्रबहादुर सिंह, पदमबहादुर शाही, धनबहादुर शाही र टेकराज जोशी विजयी भएका छन् । प्रदेश निर्वाचन क्षेत्र महिला सदस्यतर्फ चमेली तामाङ र लक्ष्मी भण्डारी चयन भएका छन् ।

प्रदेश अधिवेशनको व्यवस्थापन गरेको नेपाली काँग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार खस आर्य खुलातर्फ सुरतबहादुर रावत, रामबहादुर देउवा, कासीराम देवकोटा, भक्तबहादुर ठकुल्ला, कृष्णप्रसाद पाठक र करवीरसिंह कार्की विजयी भएका छन् ।

यस्तै आदीवासी जनजातीमा दाउत तामाङ, अल्पसंख्यक वा अपाङगतामा उपेन्द्रबहादुर खडायत, खस आर्य महिलातर्फ कान्ताचन्द शाही, दिपा ऐर, केशरी बिष्ट, सम्झाना खत्री, निलम लेखक जोशी र टिकेश्वरी हमाल विजयी भएका प्रचारप्रसार संयोजक सुनारले बताए ।

उनले दिएको जानकारी अनुसार प्रदेश सदस्य मधेशीतर्फ वेदप्रसाद चौधरी, दलित खुलातर्फ चन्द्रे टमटा, राजेशकुमार टमटा, दलित महिला सदस्यतर्फ रुपा आउजी, थारु खुला सदस्यतर्फ झेली राना थारु, राजसमझ चौधरी, थारु महिलातर्फ भुलिया राना र मुस्लिम सदस्यतर्फ डा.मेघराज आलम अन्सारी चयन भएका छन् ।

यस्तै प्रदेश सदस्य भूगोलतर्फ तुलाराम साउद, गौरीसिंह बोहरा, गजराज पाण्डेय, तेजबहादुर लुहार, राजेन्द्रसिंह बिष्ट, राजेन्द्रबहादुर खड्का, धनराज पण्डित र तेजबहादुर चन्द विजयी भएको सुनारले जानकारी दिए ।

प्रदेश सदस्य भूगोल महिलातर्फ अनुराधाकुमारी स्वाँर, कलावतीदेवी बोहरा, प्रेमा श्रेष्ठ, कमला धामी सामन्त, सुनिता थापा, राधिकादेवी सिंह र कमला चन्द विजयी भएका सुनारले जानकारी दिए । काँग्रेस सुदूरपश्चिमका एक नेताका अनुसार ११ जना सदस्य पौडेल पक्षबाट विजयी भएका छन् ।

प्रदेश सदस्यमा निर्वाचित करवीर कार्की, दाउत तामाङ, तुलाराम साउद, प्रेमा श्रेष्ठ, कमला धामी सामन्त, निलम लेखक जोशी, टिकेश्वरी हमाल बिष्ट, रुपा आउजी, रिया राना, चमेली तामाङ र राजेन्द्र खड्का पौडेल पक्षका हुन् ।

बाँकी ४० जना प्रदेश सदस्य भने देउवा पक्षका हुन् । प्रदेश समितिको पहिलो बैठक नेपाली कांग्रेसको कैलाली जिल्ला पार्टी कार्यालयमा बसेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार