१० श्रावण २०८१, बिहीबार

को हुन काँग्रेसका प्रदेश सभापति बलायर ?




धनगढी / नेपाली काँग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश अधिबेशनमा संंस्थापन पक्ष (देउवा) का तर्फबाट सभापतिमा पाँच जना आकांक्षी थिए । पाँचै जनाले आआफ्नो उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार पनि शुरु गरिसकेका थिए ।

केही आकांक्षीले त धनगढीका विभिन्न स्थानमा आफ्नो ब्यानरहरू पनि झुण्डाइसकेका थिए । मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिन साँझसम्म पनि सभापतिको दौडमा थिएनन, वीरबहादुर बलायर । उनी धनगढीमै थिए । अनुमोदनसंगको कुराकानीमा पनि उनले आफू प्रदेश सभापतिको इच्छुक नरहेको प्रतिक्रिया दिएका थिए ।

बिहीबार बिहानदेखि संस्थापन पक्षका नेताहरूले बलायरलाई सभापति बनाएर अरु आकांक्षीहरूलाई व्यवस्थापन गर्ने कसरत गरिरहेको चर्चा चल्यो । संस्थापन पक्षका दुई केन्द्रीय नेता रमेश लेखक र एनपी सावदबीच पहिलेदेखि नै मतभेद रहदै आए पनि प्रदेश अधिवेशनसम्म आइपुग्दा एकै ठाउँमा आइपुगे ।

कञ्चनपुरमा वडादेखि जिल्ला अधिवेशनसम्म दुई खेमामा विभाजित भएर चुनाव लडेका नेताद्वय लेखक र सावद प्रदेश सभापतिमा बलायरलाई उम्मेदवार बनाएर आआफ्ना पक्षका आकांक्षीहरूको व्यवस्थापन गर्ने कुरामा एकमत भइ । र अन्त्यमा, बलायरको नेतृत्वमा संस्थापन पक्षको प्यानल बन्यो ।

नेताद्वय लेखक र सावद जिल्लामा कहिल्यै एक भएनन् । कहिल्यै संगै हिडेनन । तर बलायरलाई साँझा उम्मेदवार बनाउन दुवै जना बाध्य भए । उनीहरूलाई एक ठाउँमा आउने परिस्थिति भने बालुवाटारको निर्देशनबाट सम्भव भएको बताइन्छ ।

५७ वर्षीय बलायर विद्यार्थीकालदेखि नै चर्चित मानिन्छन् । लडाकु स्वभावका उनी २०४६ सालमा कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जनआन्दोलनको घोषणा हुदै गर्दा उनी घोषणा सभाको सुरक्षा संयोजक रहेका थिए ।

बीपी कोइरालाबाट प्रभावित भएर विद्यार्थीकालदेखि नै नेबिसङ्घको राजनीतिमा लागेका बलायर २०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए । तर सो निर्वाचनमा पराजित हुनु भए । त्यतिबेला उनी त्रिभुवन विश्व विद्यालयमा नेविसङ्घको अध्यक्ष थिए ।

उनले पहिलो पटक २०६४ सालमा डोटीबाट संविधान सभाको उम्मेदवार बन्ने मौका पाए । तर, उनी सो निर्वाचनमा पराजीत भए ।

२०७० सालको संविधान सभाको निर्वाचनमा उनले पुनः टिकट पाए । यस पटक उनी चुनावमा विजयी भए । त्यसपछि उनी शेरबहादुर नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने ।

१२ औं महाधिवेशनमा नेपाली काँग्रेस डोटीको सभापति भएका बलायर १३ औं महाधिवेशनमा भूगोलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार