१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश काँग्रेस सभापतिमा बलायर निर्वाचित



पदाधिकारीहरूमा पनि बलायर प्यानलको बर्चश्व

पार्टीको आन्तरिक निर्वाचनलाई जीतहारका रुपमा हेरिनु हुँदैन : सभापति बलायर

संगठनलाई बलियो बनाउन निरन्तर क्रियाशील भइरहने छौ : मिश्र



धनगढी / नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन् । प्रदेश कार्यसमितिका पदाधिकारीहरूमा पनि बलायर प्यानलका उम्मेदवारहरू नै विजयी भएका छन् ।

नवनिर्वाचित सभापति बलायर संस्थापन पक्ष (देउवा) बाट प्यानलसहित निर्वाचनमा उत्रिएका थिए ।

बलायरले ६८८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी संस्थापन बाहेक टिमका नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे । प्रदेशमा एक हजार २६ प्रदेश अधिवेशन प्रतिनिधि रहेकोमा शनिबार भएको निर्वाचनमा १००३ मत खसेको थियो ।

आइतबार मध्यान्ह घोषित मतगणनाको अन्तिम नतिजा अनुसार उपसभापतिमा जनकराज चौधरी (६१०) र लोकराज अवस्थी (५२३) सहित विजयी भएका छन् ।

संस्थापन बाहेकका पक्षका उपसभापतिका उम्मेदवार गोपालसिंह गुरुङले २८१ र मनबहादुर रावलले २६३ मत प्राप्त गरे । उपसभापति पदका अर्का उम्मेदवार हिमबहादुर रावलले १२१ मत प्राप्त गरे ।

त्यस्तै, महामन्त्रीमा नरनारायण शाह (६४८ मत) र मेघराज खड्का (६३५ मत) सहित विजयी भए । महामन्त्री पदका संस्थापन बाहेकका पक्षका उम्मेदवार रामबहादुर शाहीले ३०३ र प्रताप गुर्धामीले २३३ मत प्राप्त गरे ।

सहमहामन्त्रीमा चिन्तामणी भट्ट (५३३ मत) र गोपालदत्त भट्ट (५२९ मत) सहित विजयी भए । भने मिश्र टिमका पदमराज पन्तले २५४ र नरेन्द्रप्रसाद भट्टले २१२ मत प्राप्त गरे ।

सहमहामन्त्री पदका अर्का उम्मेदवार लक्ष्मणबहादुर शाहीले १६४ मत प्राप्त गरे भने हर्कबहादुर स्वारले ६८ मत प्राप्त गरे ।
त्यस्तै, सहमहान्त्री महिलातर्फ अम्बिका चलाउने ६८६ मत सहित विजयी भइन । उनका प्रतिस्पर्धी मिश्र टिमका खिना भण्डारी कुँवरले २२३ मत प्राप्त गरिन् ।

सभापतिमा विजयी भएपछि अनुमोदन दैनिकसंग टेलिफोनमा संक्षिप्त प्रतिक्रिया दिदै प्रदेश सभापति बलायरले भने– यो पार्टीको आन्तरिक मामिला हो । त्यसैले चुनावी परिणामलाई कसैले पनि जीतहारका रुपमा नलिएर सहज रुपमा लिनका लागि म आग्रह गर्दछु ।

उनले आम काँग्रेसजनबीच जस्तोसुकै तिक्तता वा मतभेद भए पनि र कोहीकसैको स्वार्थहरूका कारण सिंगो पार्टीले दुःख पाउनु नहुने बताए । भने– काँग्रेस कमजोर हुँदा देशले दुःख पाउदो रहेछ भन्ने विगतका घटनाक्रमले पुष्टि गरिसकेको छ ।

प्रदेश सभापति बलायरले आफूहरूले आगामी आवधिक निर्वाचनहरूलाई अर्जुन दृष्टि बनाएर प्रदेशमा काँग्रेसको पूर्ण विजयका लागि काम गर्ने बताए । भने– पार्टीलाई तल्लो इकाईदेखि नै सशक्त पार्टी संगठन बनाउने मेरो र मेरो टिमको प्रमुख कार्य हुने छ । यससंगै हामी पार्टीका आम कार्यकर्ताहरूलाई विचार सिद्धान्तका दृष्टिकोणले सशक्त बनाउन प्रशिक्षण कार्यलाई अभियानका रुपमा नै अघि बढाउने छौं ।

नतिजा सार्वजनिक भइपछि सभापति पदमा पराजित मिश्रले अनुमोदन दैनिकसंग टेलिफोनमा कुरा गर्दै भने– यो प्रदेश अधिवेशनमा सुदूरपश्चिममा हामी प्रष्ट दुई खेमा भएर चुनाव लड्यौं । यो प्रदेशमा पौडेल–कोइराला सहित संस्थापन बाहेकको मतलाई एकत्रित गर्न र सुरक्षा गर्न हामी टिमसहित नै चुनावमा होमिएका थियौं । यसमा हामी सफल भएका छौं ।

उनले निर्वाचनबाट प्रदेशभरीका आम नेताकार्यकर्ताहरूमा भावनात्मक एकता र जागर सञ्चार भएको प्रतिक्रिया दिए ।

तपाईंको आगामी भूमिका के हुन्छ ? भन्ने प्रश्नमा मिश्रले भने– हामी अब नयाँ जोस र जाँगरका साथ संगठनलाई बलियो बनाउन निरन्तर क्रियाशील भइरहने छौ ।

सुदूरपश्चिम प्रदेशमा काँग्रेसलाई विधि र प्रक्रिया तथा विधान अनुरुप चलायमान हुने सशक्त लोकतान्त्रिक पार्टीका रुपमा विकास गर्न हामी सबै एकजुट भएर लाग्ने छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार