म सर्वस्वीकृत उम्मेदवार हुँ :सिंह

धनगढी / नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट धनगढीमा शुरु हुँदैछ । सो अधिवेशनमा सभापतिका पाँच दावेदार छन् । अन्य पदका दावेदार पनि बढ्दै छन् । बझाङबाट दुई पटक सांसद, एक पटक सहायकमन्त्री र राज्यमन्त्री तथा राजदूत रहिसकेका अर्जुनजंगवहादुर सिंह पनि सभापतिका दावेदार छन् । उनी आफू कुनै अन्य पदको बार्गेनिङका लागि नभई स्वभाविक रुपमा प्रदेश सभापतिको उम्मेदवार रहेको बताउँछन् ।
“मेरो झण्डै चार दशकको काँग्रेसको राजनीतिक यात्रा र लामो अनुभवले म यो पदको (प्रदेश सभापति) स्वाभाविक र सर्वस्वीकृत उम्मेदवार हुँ” उनले भने– सबै साथीहरूसंग छलफल गरेर नै मैले आफ्नो उम्मेदवारी घोषणा गरेको छु ।
उनले एकतावद्ध सुदूरपश्चिम काँग्रेस आफ्नो लक्ष्य रहेको बताए । भने– अहिले पार्टी लथालिङ्ग अवस्थामा छ । संसदीय, प्रदेश तथा स्थानीय निर्वाचनमा पराजित भएको छ । अब तीन वटै निर्वाचनमा पार्टीलाई विजय दिलाउनु हाम्रो लक्ष्य हुनुपर्दछ । लथालिङ्ग अवस्थामा पुगेको पार्टीलाई एकतावद्ध गर्दै युवाहरूलाई क्षमताअनुसारको नेतृत्व दिएर र अग्रजहरूको अनुभवलाई सिरोधार्य गरेर अघि बढ्नु पर्दछ ।
२०३६ सालमा नेविसंघको सदस्य बनेर राजनीतिक यात्रा शुरु गरेका सिंह २०३८ सालमा संघको केन्द्रीय सदस्य र ०४२ सालमा केन्द्रीय उपाध्यक्ष रहेका थिए ।
०४० सालमा बझाङ जिल्लाको काँग्रेस सचिव बनेका उनी २०४८ र ०५६ मा बझाङबाट निर्वाचित सांसद, ०५६ मा सहायकमन्त्री, ०६८ मा परराष्ट्र राज्यमन्त्री र ०७४ मा राजदूत बनेका थिए ।
उनले २०३८ सालदेखि प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी साढे तीन वर्ष जेल जीवन विताएको बताए




