१० श्रावण २०८१, बिहीबार

महिनावारी व्यवस्थापन पुरुषको पनि जिम्मेवारी हो : उपसभामुख जोशी



धनगढी / सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीले मर्यादित महिनावारी व्यवस्थापन महिलाको मात्र होइन पुरुषको समेत जिम्मेवारी भएको बताएकी छन् ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (आरभीडव्लुआरएमपी) डडेल्धुराको आयोजनामा भएको मर्यादित महिनावारी व्यवस्थापन सम्वन्धी दुई दिने कार्यशालाको बुधबार धनगढीमा उद्घाटन गर्दे उपसभामुख जोशीले सो कुरा बताएकी हुन । उनले भनिन् महिनावारीलाई मर्यादित बनाउन परियोजनाको राम्रो भूमिका रहेको पनि बताइन ।

मेरो घर दार्चुला हो मैले दुहु गाउँपालिकामा एक घर एक खानेपानी कार्यक्रम लागू भएको देखेकी छु उनले भनिन त्यसले खानेपानीमा मात्र होइन महिनावारी तथा स्वच्छता व्यवस्थापनमा राम्रो सहयोग पुगेको छ ।

सो अवसरमा दुई वर्ष अघि मर्यादित महिला व्यवस्थापनका लागि तय भएको आठ वुँदे घोषणा पत्रको पनि समिक्षा गरिएको थियो । कार्यक्रममा कलाकार तथा सेविब्रेटीमार्फत महिनावारी व्यवस्थापनमा कसरी चेतना अभिवृद्धी गर्ने भन्ने बारे पनि छलफल भएको थियो । सो सम्वन्धमा परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै गरेर स्थानीय तहको लैंगिक तथा अपांगमैत्री योजना तर्जुमा प्रक्रियामा आगामी रणनीति सम्वन्धी कार्यपत्र परियोजनाकै मञ्जु भट्टले प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा कार्यक्रम लागू भएका सुदूरपश्चिमका २१ पालिकाका अधिकांश उपाध्यक्ष, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय कलाकार रेखा जोशी लगायतको सहभागिता थियो ।

आरभीडव्लुआरएमपीले कञ्चनपुर बाहेकका आठ जिल्लाका २१ पालिकामा खानेपानी सरसफाइ, जिविकोपार्जन, जलवायु परिवर्तन, प्रकोप न्युनीकरण लगायतका कार्यक्रममा लैंगिक समानता र सामाजिक समावेशीकरण जोडेर परियोजना सञ्चालन गरेको छ ।

सो अवसरमा आरभीडव्लुआरएमपीका टीम लिडर मेट्टे डेन्डरिच जुनकोभले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार