७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन हुँदैनः प्रचण्ड



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन ।

आज धनगढी पुगेका उनले विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार परिवर्तन नहुने बताउँदै हालको सरकारलाई अझ तदारुकताकासाथ काम गर्न आग्रह गरे ।

सत्तारुद्ध दलहरुबीचको संयन्त्रसमझदारी र सम्बन्ध बलियो बनाउन बनेको बताए । उनले भने– ‘यो संयन्त्र सरकारलाई निन्त्रण गर्न वा दबाव दिनका लागि बनेको होइन । गठबन्धन पार्टीहरुबीचको समझदारी राम्रो र बलियो बनाउनका लागि बनेको हो ।’ उनले संयन्त्र सरकारभन्दा माथि नरहेको पनि स्पष्ट पारे ।

सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी चुनावसम्म रहने प्रचण्डको भनाइ थियो । पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले बाहिर गठबन्धनको विरोध भइरहे पनि भित्रभित्रै सबै पार्टीले गठबन्धन चाहिरहेको बताए ।

अध्यक्ष प्रचण्डले तीन तहकै निर्वाचन एक साथ हुनु पर्नेमा जोडमा दिए । ‘तीन तहकै निर्वाचन एक साथ भएमा खर्च कम हुनेछ’, उनले भने ।

पत्रकारको एक जिज्ञासाको जवाफमा प्रचण्डले अदालत स्वतन्त्र निकाय रहेको र यसको गरिमा रहनु पर्ने उल्लेख गरे ।

उनले सर्वोच्चमा देखिएको गतिरोध समाधान हुने र सकारात्मक निर्णय आउनेमा आफू आशावादी रहेको बताए ।

‘यदि, त्यसो भएन भने गठबन्धनले पनि समस्या समाधानका लागि पहलकद्मी भूमिका निर्वाह गर्नेछ’, उनले भने ।

यसैगरी, एमसीसीको विषयमा सबैसँग सल्लाह गरेर अगाडि बढ्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड कैलाली आएका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार