६ पुष २०८२, आईतवार

गणक टोली छाङरु पुग्यो, कालापानीमा भने जनगणना नहुने सम्भावना



दार्चुला / दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ । यद्यपी भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको नाबि, कुटी र गुञ्जी गाउँमा गएर जनगणना गर्न सम्भव नभएको बताइएको छ ।

सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणना सुरु गरेको दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेले बताए । उनका अनुसार शुक्रबार खलंगाबाट प्रस्थान गरेको टोलीले छाङरु र तिकंर दुबै गाउँमा जनगणना गरिसक्न तीन दिन लगाउने छ ।

उनले भने, चिसो छल्न तिकंरबासी बेँसी झर्न थालेकोले जनगणना गर्न चुनौती थपिएको छ । केही स्थानीयहरु चिसो छल्न बेँसी झरिसकेको खबर सुन्नमा आएको छ, त्यहाँका गणक राजेन्द्र कार्की हिड्न नसक्ने भएपछि खलंगामै छन, गणक खटाएर बेँसी झरेका स्थानीयहरुको गणना खलंगामै गरिने छ ।

व्यास गाउँपालिका–१ बाहेक जिल्लाका अरु वडाहरुको जनगणना कार्य भने अन्तिम चरणमा पुगेको छ ।

नेपालतर्फको बाटो निकै असहज भएकोले भीर पहरामा हिँड्दा ज्यानको समेत जोखिम हुनसक्ने भएकोले गणकहरुलाई फर्किदा हेलिकोप्टरको व्यवस्था गरिदिन माग गरिएको छ । हेलिकोप्टरका लागि विभागसंग समन्वय भइरहेकोले फर्किदासम्म हेलिकोप्टरको व्यवस्था हुनसक्ने सम्भावना रहेको जनगणना अधिकृत पाण्डेले बताए ।

नेपालतर्फ सुरक्षित बाटो नहुदा व्यास गाउँपालिकाका स्थानीयहरु भारतीय बाटोको प्रयोग गर्दै सदरमुकाम खलंगाबाट गाउँसम्म आवतजावत गर्दै आएका छन् । भारतले गणकलाई बाटो नदिदा सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर नेपालतर्फकै जोखिमपूर्ण बाटो हुँदै व्यास पुगेका हुन् । स्थानीय हरक कार्कीका अनुसार लालाबाला, बस्तुभाउसहित उक्त बाटो भएर सदरमुकाम पुग्न सकिने अवस्था छैन ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतले गणकलाई मात्रै जान नदिएको तर स्थानीयहरु पास लिएर अहिलेपनि आवतजावत गरिरहेको बताए । विवादित क्षेत्रमा गएर पनि जनगणना गर्छ कि भन्ने आशंकाले गणकलाई पास नदिएको हुनसक्ने उनको भनाई छ ।

जनगणनाको समय सकिन तीन दिन मात्र बाँकी रहेको छ, भारतीयले पास देलान् अनि जाउँला भन्दा समय घर्किने भएपछि जनगणना टोली पैदल हिँडेरै गएको हो, प्रजिअ जोशीले भने त्यहाँको बाटो असहज छ, टाढा पर्छ भनेर हामीले भारतसंग भारतीय बाटो प्रयोगका लागि अनुमति माग्यौँ, पासका लागि अनुरोध गर्यौँ, तर भारतीय पक्षले यो वा त्यो बाहानामा अनुमति दिएन, त्यसैले नेपालकै बाटो पैदल हिडेर गणकहरु त्यहा पुगेका छन् ।

जनगणनाको काम सकेरै फर्किन्छन । घुम्न जाने नेपालीलाई पास दिइरहेको भारतीय प्रशासनले बाटो बिग्रिएको र केन्द्र सरकारको अनुमति नभएको भन्दै गणकलाई भारतीय बाटोबाट व्यास जान अनुमति नदिएको हो ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको नाबि, कुटी र गुञ्जी गाउँमा गएर जनगणना गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । केन्द्रिय तथ्यांक विभागले वैकल्पिक प्रविधि गरेर जनगणना गर्छौ भनेर भनिराख्नुभाको छ, उनले भने , त्यहाँ अहिलेसम्म कुनै किसिमको जनगणना गर्न सकिने सम्भावना आजका मितिसम्म मैले देखेको छैन ।

तर कुनै त्यस्तो किसिमको प्रविधि भए त्यसपछि मात्रै जानकारी होला । भारतले महाकालीको किनारैकिनार लिपुलेकसम्म बाटो बनाएको छ भने अतिक्रमित भूमिमा ठूलो सुरक्षा तैनाथ गरेको छ ।

व्यास गाउँपालिका–१ मै पर्ने गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न जिल्ला तहबाट सम्भव नभएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार