१५ बैशाख २०८१, शनिबार

एमालेको महाधिवेशन : सुदूरपश्चिमबाट नयाँ दावेदार थपिदै




धनगढी / नेकपा (एमाले) को दशै महाधिवेशनमा केन्द्रीय सदस्यका दावेदार थपिएका छन् ।

महाधिवेशन प्रतिनिधि छानिएपछि उनीहरुले विभिन्न तरिकाले आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् ।

केन्द्रीय सदस्यको दावेदारी गर्नेमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सदस्य डा. दीपकप्रकाश भट्ट, बैतडीका प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी, कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य नरबहादुर धामी, डडेलधुराका प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री पठानसिंह बोहरा, बैतडीका प्रदेश सभा सदस्य लीलाधर भट्ट, पूर्व अछामका जिविस सभापति कृष्णप्रसाद जैसी छन् ।

यस्तै गरेर कैलालीका एमाले अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापा, डोटीका अध्यक्ष चक्र मल्ल, अछामका पूर्व अध्यक्ष कमल तिमिल्सेना र कैलालीका युवानेता धर्मराज पाठक पहिलो पटक केन्द्रीय सदस्यमा उठ्दैछन् ।

बैतडीका भण्डारी नवौ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजीत भएका थिए ।

दावेदारको संख्या अझै बढ्ने सम्भावना रहेको बताइन्छ । उम्मेदवारमध्ये अछामका कमल तिमिल्सेना प्रदेश कमिटीबाट प्रतिनिधि बनेको बताइन्छ भने अरु सबै जिल्ला तथा निर्वाचन क्षेत्रबाट प्रतिनिधि भएका छन् ।

यसपटक उम्मेदवार बन्ने प्राय: सबैले कुनै न कुनै बेला पार्टीको जिल्ला नेतृत्व सम्हालिसकेका छन् भने कञ्चनपुरका प्रतिनिधि सभा सदस्यद्धय भट्ट र धामी तथा कैलालीका पाठक अनेरास्ववियूको राजनीतिबाट गरेका छन् । भट्टले भारत प्रवासमा धामी र पाठकले नेपालमा केन्द्रीय स्तरको अखिलको काम गरेका छन् ।

पहिलो पटक पार्टीको महाधिवेशन प्रतिनिधि बनेका धर्मराज पाठकले निर्वाचन भएमा आफू केन्द्रीय सदस्यमा दावेदार रहने बताए ।
एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार