४ जेष्ठ २०८१, शुक्रबार

‘सर्वोच्चको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्छ’



-आन्दोलनमा ओली प्रवृत्ति बेलाबेलामा जन्मने चर्चा गर्दे सोभियत रुसको समाजबाद पनि यस्तै व्यक्तीहरुका कारण पतन भएको अध्यक्ष नेपालले बताए । उनले व्यक्तीलाई समयमै चिन्न नसक्दा देश र आन्दोलनले दुःख पाउने गरेको पनि बताएका थिए ।

धनगढी / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले गैर कम्युनिष्टहरुको पार्टी बनिरहेको आरोप लगाएका छन् ।

कम्युनिष्ट आचरण बोकेका र कम्युनिष्ट सिद्धान्तबाट प्रेरित मान्छेहरु एमाले नरहेको अध्यक्ष नेपालको भनाइ थियो । ‘राम्रा, सुसंस्कृत, कम्युनिष्ट आचरण बोेकेका र कम्युनिष्ट सिद्धान्तबाट प्रेरित मान्छे एमालेमा छैनन्’, उनले भने ‘एमाले गैरकम्युनिष्ट आचरण अङ्गाल्नेहरुको पार्टी बन्दैछ ।’

सो पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयको धनगढीमा उद्घाटन गर्दे उनले आफूले नेतृत्व गरेको समाजवादी कम्युनिष्ट पार्टी कम्युनिष्ट आदर्शमा समर्पित पार्टी रहेको जिकिर गरे ।

नेपालले सुदूरपश्चिमबाट फहराएको नेकपा एकीकृत समाजवादी पार्टीको झण्डा मेचीसम्म बताए । अहिले सुदूरपश्च्मि पार्टी कार्यालय भाडाको घरबाट सञ्चालन भए पनि चाँडै जग्गा खरिद गरेर आफ्नै भवन निर्माण गर्ने उनले विश्वास व्यक्त गरे ।

धनगढीको चटकपुरस्थित पहिले नेकपा (एमाले)को प्रदेश कमिटीले प्रयोग गरेको भवनलाई नेकपा एकीकृत समाजवादीले लिएको छ । यसैगरी, अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीले पार्टी सम्बन्धित स्टिकर घर–घरमा वितरण गर्ने अभियान चलाइने बताए । स्टिकरमा पार्टीको नारा एवम् विवरण रहने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनु पर्ने बताए । पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले सर्वोच्चमा देखा परेको समस्या चाँडै समाधान हुनु् पर्ने भनेर गठबन्धनको बैठकले साझा धारणा बनाएको बताए । ‘सर्वोच्चको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न हामीले साझा धारणा बनाएका छौं’, उनले भने ।

अध्यक्ष नेपालले समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नु पर्नेमा जोड दिए । ‘सर्वोच्चको समस्या समाधानका लागि प्रधानमन्त्रीको हैसियतले प्रधानमन्त्रीले नै पहल गर्नुपर्छ ।’ उनको भनाइ थियो ।

यसैवीच विहिवार नै प्रदेश स्तरिय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दे अध्यक्ष नेपालले आफूहरुले नै केपी ओलीको व्यक्तीवाद, अराजकता पराजीत गरेको बताउदै मुलुकमा स्थिरता कायम दावी गरे ।

ओलीले आफू प्रधानमन्त्री र पार्टीबाट हट्ने अवस्था आएपछि कृर्सी नै भाँच्न खोजे हामीले हामीले सवै परिस्थिति ठिक ठाउँमा ल्यायौ उनले भने, ओलीले कम्युनिष्ट आन्दोलन नै समाप्त पार्न खोजेपछि आन्दोलनलाई सही दिशा दिन नयाँ पार्टी बनाएको हो ।

उनले आफूले विगतमा पार्टी नेतृत्व र प्रधानमन्त्री सहजै छोडेको पनि बताएका थिए । मैले आफूले छोडेर आन्दोलन जोगाए, ओलीले आन्दोलन ध्वस्त बनाएर आफूलाई जोगाउन खोजे उनले भनेका थिए ।

आन्दोलनमा ओली प्रवृत्ति बेलाबेलामा जन्मने चर्चा गर्दे सोभियत रुसको समाजबाद पनि यस्तै व्यक्तीहरुका कारण पतन भएको बताए । उनले व्यक्तीलाई समयमै चिन्न नसक्दा देश र आन्दोलनले दुःख पाउने गरेको पनि बताएका थिए ।

उनले ओली हिटलर जस्तै बन्न खोजेको बताउदै ओलीलाई भष्मासुरको संज्ञा दिए ।

उनले सत्ता उन्माद र अहंकारले संसारमा शासन गर्न खोजेर हिटलरका कारण दुई लाख मान्छे मरेको बताउदै ओलीले पनि कम्युनिष्ट आन्दोलन र देशलाई डुवाउन खोजेको संकेत गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार