१० श्रावण २०८१, बिहीबार

भुपेन्द्रका हत्याको कारण पत्ता लागेन



धनगढी / कैलालीका भूपेन्द्र बडुवालको हत्या भएको एक साता पुग्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन । गत मंगलबार राति लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो ।

हत्यामा हालसम्म ९ जना पक्राउ परेका छन् । सुरूमा ८ जना पक्राउ परेकामा आइतबार प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले आइतबार लम्कीचुहा–५ का विकास खड्कालाई पक्राउ गरेको छ ।

घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी निरीक्षकको नेतृत्वमा दुई जनाको टोली कैलाली पठाइएको छ । सोमबार ब्युरोबाट टोली घटनास्थल प्रस्थान गरेको ब्युरोले जनाएको छ ।

हत्याको भोलिपल्ट गत बुधबार प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह थिए ।

घटनास्थलबाट सु प प्र०१००८प ५५६५ नम्बरको स्कुटर र सु प प्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका २२ वर्षीय श्रेष्ठले बडुवाललाई राति ८ बजे घरबाटै ‘साथीलाई समस्या परेको छ’ भन्दै लिएर गएका थिए ।

लम्कीचुहाबाट श्रेष्ठले लिएर गएका बडुवालको टीकापुर नगरपालिका–१ मा हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार