१४ बैशाख २०८१, शुक्रबार

क्षेत्र नम्बर ४ मा एमालेको चुनाव हुँदै, पूर्वमन्त्री सुवेदी उठेनन्



अत्तरिया / नेकपा (एमाले) को कैलाली क्षेत्र नम्बर ४ मा १० औ महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने भएको छ ।

पाँच जना प्रतिनिधिका लागि सोमबार दिउँसोबाट चुनाव हुने भएको हो । दुई जना महिलामा भने निर्विरोध भइसकेको छ । चुनाव मैदानमा १० जना उत्रिएका छन् ।

चुनावी प्रतिस्पर्धामा चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगर, गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँद, पुराना नेता पदमसिंह सिंगाल, रामप्रासद चौधरी, युवाहरु लोकेन्द्र शाही, भिष्म सुवेदी, किसनसिंह साउद विशाल, रविन्द्र राना, इश्वरा आचार्य, सुरत विष्ट, टेकबहादुर बुढा चुनावी मैदानमा छन् ।

सो क्षेत्रमा सर्वसम्मतको प्रयास गरिए पनि सफल नभएपछि चुनाव हुन थालेको हो । सर्वसम्मत प्रतिनिधिमा नाम उल्लेख भएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी चुनाव हुने भएपछि पछि हटेका छन् । उनका छोरा भिष्मराज सुवेदी भने प्रतिनिधिका लागि चुनावमा होमिएका छन् ।

महिलामा एमालेका स्थायी समिति सदस्य लेखराज भट्टकी पत्नी निर्मला भट्ट र भागीरथी विष्ट निर्विरोध छानिएका छन् ।

नयाँ शैलीको चुनाव
क्षेत्र नम्बर ४ मा नयाँ शैलीले प्रतिनिधि छनौट हुन थालेका छन् । चार हजार छ सय जति संगठित सदस्य रहेको सो क्षेत्रमा २० बरावर एक प्रतिनिधि छानिएको छ । सो प्रक्रिया अनुसार २२८ जनाले पाँच जना प्रतिनिधि छान्ने भएका छन् ।

देशभर र विगतमा पनि एमालेले प्रत्येक निर्वाचन क्षेत्रका सबै प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधि छान्ने विधि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार