१० श्रावण २०८१, बिहीबार

नेपाली काँग्रेस महाधिवेशन मिति तय भएसंगै कैलालीमा पनि चहलपहल बढ्यो



धनगढी / नेपाली काँग्रेसको पछिल्लो निर्णय अनुसार कैलालीमा पनि वडादेखि जिल्ला अधिवेशनको मिति तय भएसंगै जिल्लामा काँग्रेसजनहरूमाझ अधिवेशनको चहलपहल बढ्दै गएको छ ।

काँग्रेस केन्द्रिय कार्यालयको पछिल्लो निर्णय अनुसार कैलाली सहितका १३ जिल्लामा आगामी २७ गते वडा अधिवेशनका लागि मिति तोकिएको छ ।

कैलाली सहित देशका १३ जिल्लामा क्रियाशील सदस्यताको चर्को विवादका कारण अहिलेसम्म सबैभन्दा प्रारम्भिक (वडा) अधिवेशन पनि भएको छैन । सुदूरपश्चिम प्रदेशमा कैलालीमा मात्रै अहिलेसम्म वडा अधिवेशन समेत भएको छैन ।

कैलालीसहित देशभरी गत भदौ १८ गतेदेखि वडा अधिवेशन शुरु गर्ने भनिए पनि सदस्यता विवादका कारण अधिकांस वडाहरूमा अधिवेशन हुनसकेन । सुदूरपश्चिम प्रदेशमा गत भदौ १८ गते र त्यसपछिका विभिन्न मितिमा गरेर आठ जिल्लामा वडा अधिवेशन भइसकेका छन् भने दुई जिल्लामा जिल्ला अधिवेशन पनि भइसकेको छ ।

पार्टी केन्द्रीय कार्यालयको पछिल्लो निर्णयसंगै कैलालीमा पनि अधिवेशनको रापताप बढेको छ ।

केन्द्रिय कार्यालयले जिल्लामा १४ महाधिवेशनको नयाँ कार्यतालिका कात्तिक २७ गते वडा, कात्तिक ३० गते पालिका अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन मंसिर १० गते जिल्लाको मिति तय गरेको थियो ।

सो बैठकले अधिवेशनलाई भव्य तथा सभ्य, एकता, मेलमेलाप, सहमति, सहकर्य र सहअस्तित्वलाई आत्मासाथ गरि सबै प्रक्रिया विवादरहित ढंगले सम्पन्न गर्न सबैलाई अनुरोध गर्ने र अधिबेशनका लागि आवश्यक निर्णय गर्ने समेत प्रचार समितिका संयोजक सुनारले बताए ।

यस अघि निर्वाचनलाई व्यवस्थित गर्ने कार्तिक ६ गतेको जिल्ला कार्यसम्पादन समितिको निर्णय अनुसार पार्टी सभापति नरनारायण शाहको अध्यक्षतामा एक हजार पाँच सय एक सदस्यीय जिल्ला अधिबेशन मुल व्यवस्थापन समिति गठन गरि सकेको छ । मुल समितिलाई सहयोग गर्न ११ जना सयोजक रहने गरि बिभिन्न समिति निर्माण गरिएको छ ।

जसमा आर्थिक व्यवस्थापन संयोजक शेरबहादुर देउवा, अधिबेशन प्रचार प्रसार समिति संयोजक– नृपबहादुर सुनार, स्वयंसेवक समिति संयोजक– कृष्ण पाण्डे, आवास व्यवस्थापन समिति संयोजक–केशब मिश्र, भोजन ब्यवस्थापन समिति संयोजक–नारायण सत्याल, यातायात व्यवस्थापन समिति संयोजक–टेकराज जोशी, प्राथमिक उपचार समिति संयोजक– उत्तम जोशी, मच व्यवस्थापन समिती संयोजक–पुरन चौधरी, अतिथी सत्कार समिति संयोजक–रेखा देवकोटा, सचिवालय व्यवस्थापन समिति संयोजक– कमला शर्मा र निर्वाचन व्यवस्थापन समिति संयोजक नवराज रावललाई तोकिएको छ । बैठकले जिल्ला अधिबेशनको स्थान मेनरोड धनगढीमा अवस्थित ओम प्यालेसमा गर्ने निर्णय गरिसकेको छ ।

विभिन्न तहका उम्मेदवारी घोषणा बढ्यो
जिल्लामा वडा, गाउ तथा नगर, जिल्ला, क्षेत्रीय अधिवेशन नजिकिएसंगै विभिन्न पदका आकांक्षीहरूले आआफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ ।

कैलाली जिल्लाको सभापतिका लागि आका“क्षीहरू धेरै भए पनि सार्वजनिक रुपमै खुलेका थिएनन । २०७० सालको निर्वाचनमा विजयी भएको कैलाली जिल्लामा शेरबहादुर देउवा निकटकै व्यक्तिहरू जिल्ला सभापतिको दौडमा रहेका छन । कैलालीमा देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्ला सभापतिका लागि अहिलेसम्म जिल्ला उपसभापति प्रकाश बहादुर वम, नारायणदत्त भट्ट, भीमबहादुर बडुवाल, खेमराज चौधरी, कमलबहादुर शाह, गणेश देउवा, नृप वड लगायत उम्मेदवारका आकांक्षी रहेको देखिएको छ ।

एक सय २६ वडा रहेको कैलालीमा १८ हजार तीन सय ४८ क्रियाशिल सदस्य रहेका छन । त्यसमध्ये एक सय २५ जना महाधिवेशन प्रतिनिधी छनौट गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार