६ जेष्ठ २०८१, आईतवार

भुपेन्द्रको हत्याको आरोप लागेकाको नाम सार्वजनिक



टीकापुर / टीकापुर नगरपालिका-१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका -१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टीकापुर नगरपालिका -१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन् ।

अपरिचित व्यक्तिहरुको धारिलो हतियार प्रहारबाट भुपेन्द्र गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली परिचालन गरी तत्काल घाइतेलाई उपचारको लागि टीकापुर अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटनास्थलबाट सुपप्र ०१००८ प ५५६५ नम्बरको स्कुटर र सुपप्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही बिषयलाई लिएर मृतकका आफन्तहरुले चिसापानी बजारस्थित महेश रावलको संगम होटल, भैरव शाही र राजबहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ । साथै उनीहरुले लम्कीचुहा नगरपालिका-१ स्थित लम्की चोकमा पूर्वपश्चिम राजमार्ग समेत अवरोध गरेकोले हटाउने पहल भइरहेको छ ।

घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार