२१ बैशाख २०८१, शुक्रबार

कैलालीको बुलबुले रानी सामुदायिक वनमा किचलो



धनगढी । कैलालीको बुलबुले रानी सामुदायिक वनमा किचलो भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–९ र १० पहलमानपुरमा रहेको बुलबुले रानी सामुदायिक वनका अध्यक्ष खडकबहादुर बुढाले निर्वाचनका बेला अमुक व्यक्तिलाई लाभ पुग्ने गरी सम्झौता गरिएको पत्र बाहिरिए पछि विवाद सृजना भएको हो ।

अध्यक्षले जाली सम्झौता गरेको भन्दै मंगलवार उपभोक्ताहरूले पत्रकार सम्मेलन सहित सामुदायिक वन कार्यालयमा ताला बन्दी समेत गरेका छन् । पत्रकार सम्मेलनमा उपभोक्ता हरिबहादुर बुढाले तत्काल विशेष साधारण सभा नबोलाएसम्म कार्यालयमा तालाबन्दी जारी रहने बताएका छन् । उनीहरुले तत्काल सामुदायिक वनको विशेष साधारण सभा बोलाइनु पर्ने, बाहिरिएको गोप्य सम्झौता पत्रबारे अध्यक्षले उपभोक्ता सामु स्पष्ट पार्नुपर्ने लगायतका माग राखेका छन् ।

यता सामुदायिक वनका अध्यक्षले दुई पक्षबिच चुनावमा सम्झौता भएको कुरा साँचो भएको स्विकारेका छन् । उनले प्रेम बुढा आफ्नै भतिजा भएकाले कसैको उक्साहटमा अध्यक्षमा दाबी गरेपछि उक्त सम्झौता भएको बताए । अध्यक्ष बुढाले वनमा अनियमितता भएको भन्ने कुराको खण्डन गरेका छन् ।

‘मैले संस्थाको हित हुने काम गरेको छु’, उनले भने, ‘तत्काल किन विशेष साधारण सभा बोलाउने ? त्यसको पनि समय छ, प्रक्रिया छ समय आएपछि सबै हुन्छ ।’ यो सब राजनीतिक एजेन्डा भएको वनका अध्यक्ष खडकबहादुर बुढाले बताए । आफूले वनको र उपभोक्ताको हित हुने काम गरेको र कुनै कमिसनको चक्करमा नलागेको उनले बताए । वनमा लागेको ताला उनीहरुसँग छलफल, संवाद गरेर खोलिने समेत बुढाले बताएका छन् ।

गोप्य सम्झौता पत्रमा भएका बुँदाहरूः

सहमति पत्रमा खडक बुढा लाई अध्यक्ष बनाए बापत प्रेम बुढालाई सामुदायिक वनबाट प्रत्यक्ष लाभ पुग्ने क्रियाकलापमा संलग्न गराइने उल्लेख गरिएको छ । उपभोक्ता हरुले तत्काल विशेष साधारण सभा बोलाइ पत्रमा भएको सम्झौता बारे उपभोक्तालाई स्पष्ट बुझाउन समेत माग गरेका छन् ।

बाहिरिएको गोप्य सम्झौता पत्रमा सामुदायिक वनको अध्यक्षका लागि हुने पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत कसैले प्राप्त नगरेमा प्रेम बुढाको प्यानलले खडक बुढालाई सहयोग गर्ने, नयाँ उपसमिति गठन गर्दा लेखा समिति संयोजक नन्दराम बुढालाई बनाउने, आगामी दिनमा खडक बहादुर बुढाले पार्टीका समर्थक साथीहरूको सरसल्लाहमा काम गर्ने र अरूले पनि समितिको काममा सहयोग गर्ने पत्रमा भनिएको छ ।

त्यस्तै वडा न ९ मा पार्टी नेतृत्वको वडा सरकारका काममा खडक बुढाले सहयोग गर्ने, सरकारले पनि निजको सल्लाह लिने, आगामी दिनमा सामुदायिक वनमा काठ विक्री हुँदा यदि ठेकेदारबाट कमिसन प्राप्त भएमा २ हजार क्युफिट बराबरको काठ प्रेमबहादुर बुढालाई टेन्डर हाल्न दिने र काठ सङ्कलनको अवसर पनि दिने तथा रतिपुर र खल्ला खेतमा ५ लाख भन्दा बढीका एक एक तटबन्ध हाल्ने र दोस्रो चरणको निर्वाचन गर्न दुवै पक्षले निर्वाचन समितिलाई अनुरोध गर्ने लगायतका सम्झौता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार