२२ बैशाख २०८१, शनिबार

अपाङ्गता भएका व्यक्तिहरूको यथार्थ तथ्यांक समेट्न आग्रह



धनगढी । राष्ट्रिय जनगणना २०७८ मा सुदूरपश्चिम प्रदेशका सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक तथ्यांक समेट्न राष्ट्रिय अपाङ्ग महासंघले माग गरेको छ ।

मंगलबार धनगढीमा सरोकारवालाहरूसंग अन्र्तक्रिया गर्दै देशमा १२ किसिमका अपाङ्गता भएका व्यक्तिहरू रहेकाले कार्यालयबाट खटाइएका गणकलाई सोबारे सचेतना गराउनुपर्ने बताएका हुन ।

‘अहिले गणकहरूको तालिम चलिरहेको छ । उनीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई छुट हुन नदिने गरी तालिम प्रदान गरिनुपर्छ’ अपाङ्गता क्षेत्रमा काम गर्दै आइरहेका धर्मराज ओझाले भने– ‘कति पय अपाङ्गता भएका व्यक्तिहरू बोल्न सक्दैनन, कोही सुन्दैनन । कोही घरबाटै निस्कन सक्दैनन । यस्ता प्रकारका कुरामा गणकलाई सचेत गराइनुपर्छ ।’ उनले २०६८ सालको जनगणनामा धेरै अपाङ्गता भएका व्यक्तिहरूको तथ्यांकमा छुट भएको बताए ।

अपाङ्गता क्षेत्रमा काम गर्दै आइरहेका मानबहादुर साउदले हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न, गराउन माग गरे । हेमोफिलिया भएका व्यक्तिहरू अपाङ्गताको ऐनभित्र परेको र अपाङ्गता भएकाहरूको सूचिको दसौँ नम्बरमा उल्लेख गरिएको भन्दै गणकहरू आउ“दा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रस्ट विवरण दिन अनुरोध गरेको छ । त्यस्तै यसबारेमा गणकहरू पनि सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जनगणनामा सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको सहभागिता गराउन जनचेतना, प्रचार–प्रसार, सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।

‘आम समुदाय सचेत नभए जनगणनामा छुट्ने सम्भावना देखिन्छ’ उनले भने– ‘यसका लागि कार्यालयले प्रचार–प्रसार र सबै क्षेत्रसंग सहकार्य गरेर अघि बढ्नुपर्छ ।’ राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको घरपरिवार सूचिकृत गरिसकिएको बताए । गत भदौ ३० देखि असोज १८ गतेसम्म राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो ।

अहिले जिल्लाका जिल्लाका १३ वटै स्थानीय तहमा गरिने मूल गणनाका लागि गणक छनौट गरि तालिम प्रदान गरिएको उनले बताए ।

उनका अनुसार राष्ट्रिय जनगणना कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गरिने छ । यस वर्षको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता: राष्ट्रिय जनगणना, २०७८’ रहेको छ ।

अपाङ महासंघकी केन्द्रिय सदस्य रुपा राइको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार