२१ बैशाख २०८१, शुक्रबार

हामीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्छ : इन्चार्ज शाह



धनगढी / नेकपा (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले हामीले प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउनु पर्ने बताएकी छन् ।

उनले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भनिन् हामीले नेतृत्व मागेका छौ तर निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीसँग छ ।

प्रदेशमा आफ्नो दल नै सबैभन्दा ठूलो रहेकाले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग हाम्रो हो केन्द्रीय सचिव समेत रहेकी नेतृ शाहले बताइन । सुदूरपश्चिममा नेकपा माओवादी नेतृत्वमा समाजवादी सहितको सरकार छ ।

पत्रकार सम्मेलनमा कमिटीका पदाधिकारीहरूको कार्य विभाजन समेत गरेको जानकारी दिइएको थियो ।

इन्चार्ज शाहका अनुसार शेरबहादुर कुँवरलाई संगठन विभाग प्रमुख, हर्कबहादुर सिंहलाई पार्टी स्कुल विभाग प्रमुख, दिनेशचन्द्र सुवेदीलाई प्रदेश कार्यालय व्यवस्थापन प्रमुख, दीर्घ सोडारीलाई कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुख, तारा लामा तामाङलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख र माया भट्टलाई महिला फाँट प्रमुखको जिम्मेवारी दिइएको छ ।

सो पार्टीले १५१ सदस्यीय प्रदेश कमिटी बनाएको छ बताउदै प्रदेशमा तीन महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवरले बताए ।

उनका अनुसार मङ्सिर ३ गते धनगढीमा प्रदेशस्तरीय पार्टी कार्यकर्ता भेला आयोजना गर्ने निर्णय हालै बसेको प्रदेश कमिटीको बैठकले गरेको छ ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा कात्तिक २० गतेभित्र जिल्ला कमिटी र कात्तिक मसान्तसम्म नगर तथा गाउँ कमिटीको गठन पुनर्गठन र विस्तार गरिसक्ने बताइएको छ ।

विज्ञप्तीमा लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय पक्षले अनावश्यकरुपम सिर्जना गरेको विवाद उच्च तहको कुटनीतिक पहलबाट राष्ट्रहितमा हुने गरेर समाधान गर्न सरकारसँग माग गरिएको छ ।

पपत्रकार सम्मेलनको अध्यक्षता उपाध्यक्ष कुँवरले गरेका थिए भने सञ्चालनउपसचिव तथा प्रचार प्रसार विभागका प्रमुख तारा लामा तामाङले गरेका थिए ।

सो अवसरमा सो पार्टीका स्थायी समिति सदस्य भानुभक्त जोशी, संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, प्रदेशका उपसचिव तथा पूर्वमन्त्री माया भट्ट, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामांग बोहरा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार