१० श्रावण २०८१, बिहीबार

राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड




धनगढी / दलित महिला अधिकार मञ्च नेपाल कैलालीको आयोजनामा आइतबार धनगढीमा राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिता विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा महिलाहरुलाई राजनीति लगायत अन्य क्षेत्रमा कसरी अर्थपूर्ण सहभागिता गराउने विषयमा छलफल भएको थियो । कार्यक्रम डिसिएको सहयोगमा महिला सशक्तीकरण परियोजना अन्तर्गत भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य दुर्गा विकले संविधानले महिलालाई समानुपातिक र समावेशी अधिकार दिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताइन।

उनले महिलाहरुले शसक्तरुपमा लागे राज्यका हरेक क्षेत्रमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुने बताइन । पार्टीमा पुरुषवादी चिन्तनका कारणले पनि महिलाहरु अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको उनको तर्क थियो ।

त्यसैगरी प्रदेश सभा सदस्य उमादेवी वादीले हाल महिलाहरु देश चलाउने परिस्थितिमा महिलाका सवालमा संविधानमा लेखिएको कुरा कार्यान्वयनमा नआएको बताइन।

प्रदेश सभा सदस्य मालामति राना नेपालको संविधान पूर्ण नरहेकोले यसलाई संसोधनमार्फत पूर्ण बनाउनुपर्ने जोड दिइन । उनले संविधानले नीति निर्माण त भयो, तर कार्यान्वयन नभएको बताइन ।

यस्तै, प्रदेश सभा सदस्य देवकी मल्लले महिलालाई राजनीतिमा कसरी अर्थपूर्ण सहभागिता गराउने भन्ने विषयमा बहस गर्नुपर्ने बताइन ।

उनले महिलाहरु क्रियाशील भएर निर्णनायक स्थानमा पुग्नुपर्नेमा जोड दिइन । उनले नीतिमा मात्र नभएर व्यवहारमा लागू गर्नुपर्ने बताइन ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख शुशिला मिश्र भट्ट नेतृत्व तहमा पार्टी महिला सहभागिताको विषयमा बहस गर्नुपर्ने बताइन।

उनले महिलालाई राजनीतिमा अर्थपूर्ण सहभागितालाई महिलाको बहस नबनाई पार्टीको बहसको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताइन ।

उनले राजनीति नीतिभित्रको सबभन्दा ठूलो नीति भएकोले राजनीतिमा महिला सहभागिता महत्वपूर्ण हुनुपर्ने बताइन ।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष रणबहादुर चन्दले महिलाको राजनीतिमा अर्थपूर्ण सहभागिताका लागि निर्वाचन प्रणालीमा पनि सुधार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेस कैलाली उपसभापति प्रकाश वमले नेपाली काँग्रेस पार्टीमा महिला सहभागिता गराउन प्रतिवद्ध रहेको बताए ।
महिलाहरुको क्षमता अभिबृद्धिसँगैं सशक्तिकरणमा सहयोगका लागि नेपाली काँग्रेस लागि परेको उनले बताए ।

उनले आँट भएका महिला अगाडि आउनुस हामी तपाई अवसर दिन प्रतिवद्ध छौं भने ।

यस्तै माओवादी केन्द्रका रमेश धामीले महिला सहभागिताका लागि कुनै पनि पार्टी आग्रह पूर्वाग्रह नभइ लाग्नुपर्ने बताए । उनले पारिवारिक समस्या, सामाजिक चेतका कारणले पनि महिला राजनीतिमा सहभागी हुन नसकेकोले महिलालाई अवसर दिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा निर्वाचन आयोग कैलाली प्रमुख प्रेमराज भट्टले निर्वाचनमा लैंगिक तथा समावेशीकरणबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ वडा सदस्य राधा विक, वडा नम्बर १ वडा सदस्य भीम जैरु, महिला अधिकारकर्मी गोमा आचार्य, फाया नेपालका धनपति ढुंगेल, जानकी रावत गिरी, शारदा रोकाया, अमृता विक, तारादेवी तामाङ, पुष्पा भट्ट, शारदा सुनार, माया ताम्राकार, चन्द्रकला राना, सुनिता सोप लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक पराजुलीले स्वागत गरेको कार्यक्रम दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन राजेन्द्र रैकाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार