सभामुखद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन

बझाङ / सुदूरपश्चिम प्रदेश सभामुख अर्जुनबहादुर थापाले बझाङ जिल्लामा बाढीपहिरोले क्षति पुर्याएको क्षेत्रको अवलोकन गरेका छन् ।
असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण बझाङ जिल्लाका विभिन्न ठाउँमा पुगेको मानवीय तथा भौतिक क्षतिको शनिबार अवलोकन गरेका हुन् ।
सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजार, कुइयापानी लगायतका क्षेत्रमा बस्दै आएका बाढीपहिरो पीडितको अवस्था बुझ्नुका साथै डुङ्ग्री खोलाले क्षति गरेको खेतीयोग्य जमिन, खोलाले बगाएका घर, पुल र लघु जलविद्युतको स्थलगत अवलोकन गरेका छन् ।
सभामुख थापास“ग बाढीपहिरो पीडित मष्टा गाउँपालिकाका रामचन्द्र रोकाया, जयपृथ्वी नगरपालिकाका रामबहादुर ऐडीले खोलाले बगाएका घरमा कतिपय घर पूरै क्षति भएका, कतिपय घरहरू आंशिक क्षति र जोखिममा रहेकाले बस्न समस्या भएकाले बस्ती सार्नुपर्ने र पुनर्वासको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
बाढीपहिरो पीडितको गुनासो सुन्दै सभामुख थापाले प्रदेश सरकारमार्फत राहत प्याकेजका कार्यक्रम अगाडि बढाउने र बाढीपहिरो पीडितका लागि दीर्घकालीन योजना बनाउन र उठीबास भएका घरपरिवारको विकल्प खोज्नतर्फ लाग्ने बताए ।
टोलीले बाढीपहिराले क्षति पुर्याएको खप्तडछान्ना गाउँपालिका र अवरुद्ध जयपृथ्वी राजमार्गको पनि अवलोकन गर्ने भएको छ ।




