१५ चैत्र २०८०, बिहीबार

पहिरोमा परेर सुदूरपश्चिमममा १३ जनाको मृत्यु



धनगढी / सुदूरपश्चिममा पहिरोमा परेर १३ जनाको ज्यान गएको छ । पहिरोमा परेर सबैभन्दा बढी डोटीमा आठ जनाको ज्यान गएको छ । यस्तै गरेर बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको ज्यान गएको छ ।

डोटीमा ज्यान गुमाउनेमा एकै परिवारका चार जना छन् तर उनीहरुको नाता खुलेको छैन । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका – ४ का एकै परिवारका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक र १६ वर्षीय रविन विकको मृत्यु भएको हो । उनीहरुको पहिरोमा च्यापिएर मृत्यु भएको हो ।

यस्तै डोटीकै सायल गाउँपालिका –६ खातिवाडाको घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर स्थानीय दिलबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुन्जेडा र ११ वर्षीय छोरा आशिस कुन्जेडाको मृत्यु भएको छ ।

डोटीकै शिखर नगरपालिका–११ कि ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको छ । यस्तै गरेर पहिरोमा परेर जोरायल गाउँपालिका–३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको छ ।

डडेल्धुराको गन्यापधुरा गाँउपालिका– १ भात्काडामा सन्ध्या फेन्सी स्टोर पसल गरेर बस्ने ३२ वर्षीय विष्णुप्रसाद अवस्थीको घरमाथिबाट पहिरो खस्दा उनको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।

सोमबार राति १२ः३० बजे तिर घरमाथिबाट खसेको पहिरोमा च्यापएिर मृत्यु भएको मृतकका आफन्तले भोजराज जोशीले बताए । घरपछाडि रहेको भान्साबाट पानी सहितको लेदो भित्र पस्नथालेपछि पन्छाउने क्रममा टिनको छानामाथिबाट पहिरो खसेको थियो ।

मृतकका श्रीमती र छोराछोरीको भने स्थानीयले उद्धार गरेको जनाइएको छ । डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ । घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै गरेर बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की , २४ वर्षीय भानु पार्की र तीन वर्षीय सोम पार्की छन् । उनीहरु पनि एउटै घरको रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार