८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिमका सात पहाडी जिल्ला सम्पर्कविहीन



डोटीको दिपायलमा रहेको पुलमा सेती नदीको पानी पुग्ने अवस्थामा । तस्बिर साभार : टिभी टुडे


धनगढी /
विजुली र सञ्चार अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सम्पर्कविहिन भएका छन् ।

नेपाल विद्युत प्राधिकरण अत्तरियाका प्रादेशिक प्रमुख जंगबहादुर चन्दका अनुसार कैलालीको खानीडाँडामा रहेको नेपाल विद्युत्त प्राधिकरणको १३२ केभी ट्रान्समिसन लाइनमा सल्लाको रुख ढल्दा पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ ।

चन्दले १३२ केभी प्रसारण लाइन तत्काल नबन्ने भएकोले ३३ केभीबाट पहाडी क्षेत्रमा बिद्युत सेवा दिने प्रयासमा रहको बताए । १३२ केभी प्रसारण लाइनमा सोमबार साँझदेखि समस्या आएको हो ।

नेपाल टेलिकमका सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियका प्रमुख नामाकर न्यौपानेले काठमाडौ र पहाडी क्षेत्रको टं«क लिंक टुटेकोले पहाडी क्षेत्रको फोन र इन्टरनेट सेवा मंगलबार विहानैदेखि अवरुद्ध भएको बताए ।

खाँनीडाँडामै विद्युत प्राधिकरणको पोल मार्फत लगिएको नेपाल टेलिकमको फाइवर लिंक (एडीएसएस) पनि टुटेपछि पहाडी जिल्ला सञ्चार र विद्युतका दुईवटै सेवाबाट बञ्चित भएका हुन ।

भासु भीरमा पहिरो गएकोले सो लिंक जोड्न सकेका छैनौ न्यौपानेले भने लिंक जोड्न सकियो भने विद्युत सेवा सञ्चालनमा नआए पनि सञ्चार सेवा सञ्चालनमा ल्याउन सकिन्थ्यो । सडक खुल्ने वित्तिकै फाइबर जोडिन्छ उनले बताए ।

टेलिफोन र बिजुली नहुँदा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, वझाङ, बैतडी, र दार्चुला सम्पर्कविहीन भएका छन् ।

ती जिल्लाको सम्पर्क टुट्दा सेती, महाकाली लगायतका साना ठूला नदी र पहिरोले पारेको क्षतिको विवरण प्राप्त हुन सकेको छैन् । डोटीको दिपायलमा भने सेती नदीले पुल छुन थालेको समाचार आइरहेको छ ।

तर सञ्चार सम्पर्क टुट्दा सेती नदीको प्रभाव बारे सरकारी निकायको भनाइ आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार